काठमाडौँ । विभिन्न मुलुक पठाउने भन्दै ठगी गर्ने चितवनका निरन्जन भट्टराईलाई प्रहरीले राजधानीको प्रदर्शनीमार्गबाट बुधबार पक्राउ गरेको छ ।
नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरोले भट्टराईलाई पक्राउ गरी सार्वजनिक गरेको हो । उनले गैरकानूनी रुपमा टर्की, इजिप्टलगायत मुलुक पठाउने भन्दै प्रतिव्यक्ति रु ६ लाख ५० हजारका दरले ठगेर फरार भएका थिए । विभिन्न प्रलोभन पारेर गैरकानूनी रुपमा अष्ट्रेलिया र क्यानडासमेत जान मिल्ने भनी रकम ठगी गरेको अपराध महासाखाले जनाएको छ ।
भट्टराईले प्रतिमहीना ७५० अमेरिकी डलर तलब हुने भनी प्रलोभनमा पारेर नक्कली कागजात बनाई ठगी गरेको अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ ।
उनलाई मानव बेचबिखन तथा ओसारपसार र ठगी मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्याद थप भई अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।
मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ मा मानिस किन्ने वा बेच्नेलाई २० वर्ष कैद र रु दुई लाख जरिवाना हुने व्यवस्था छ ।
Categorized in समाज