काठमाडौं । अमेरिकाको राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पलाई स्पष्ट बहुमत प्राप्त भएको छ ।
ट्रम्प जित्ने पक्का भएपछि अहिले विदेशका राष्ट्र अध्यक्ष, प्रधानमन्त्रीहरुले धमाधम बधाई दिन थालेका छन ।
उनलाई छिमेकी राष्ट्र भारतका प्रधानमन्त्री नेरन्द्र मोदी लागयतले बधाई दिएका छन ।
डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसलाई पछि पार्दै ट्रम्प दोस्रोपटक राष्ट्रपति बन्ने पक्का भएको हो । ट्रम्पको जित घोषणापछि उनी अमेरिककाको ४७ औं राष्ट्रपति बन्ने छन ।
सात स्वीङ स्टेटमध्ये फ्लोरिडा, नर्थ क्यारोलिना र पेन्सलभेनियामा जितेका ट्रम्प अन्य राज्यको मतगणनामा पनि ठूलो अन्तरले अगाडि छन ।
ट्रम्पलाई बहुमत (२७० इलेक्टोरल भोट) हासिल गर्न मात्रै ५ इलेक्टोरल भोट आवश्यक छ । तर स्वीङ स्टेटमध्ये विस्कन्सन, मिचिगन, एरिजोना र नाभाडामा ट्रम्प अगाडि छन । विस्कन्सनमा १० इलेक्टोरल भोट छ र ९१ प्रतिशत भन्दा बढी मत गणना भइसक्दा ट्रम्प निकै अगाडि छन ।
यस अघि ट्रम्प सन २०१६ मा पहिलोपटक राष्ट्रपति चुनिएका थिए । सन २०२० को निर्वाचनमा उनी डेमोक्रेटिक उम्मेदवार वर्तमान राष्ट्रपति जो बाइडनसँग पराजित भएका थिए ।
जित पक्का भएपछि ट्रम्पले फ्लोरिडास्थित चुनावी अभियानको मुख्यालयमा भेला भएका आफ्ना समर्थकलाई सम्बोधन गर्दै आफ्नो कार्यकाल स्वर्णयुग सरह हुने दाबी गरेका छन । अमेरिकी राष्ट्रपतिको कार्यकाल चार वर्षको हुन्छ ।
मतदातालाई सम्बोधन गर्दै ट्रम्पले आजको दिनलाई आफ्नो जीवनको सबैभन्दा महत्वपूर्ण दिनको रूपमा सम्झने विश्वास व्यक्त गरेका छन ।
‘यो अमेरिकाको लागि स्वर्ण युग हुनेछ’ उनले भने, ‘यो अमेरिकी जनताको लागि ठूलो विजय हो जसले हामीलाई अमेरिकालाई फेरि महान बनाउन सक्षम बनाउँछ। अमेरिकाले हामीलाई अभूतपूर्व र शक्तिशाली जनादेश दिएको छ ।’
श्रीमती मेलानियाका साथै परिवारका सदस्यहरुलाई धन्यवाद दिएका उनले जेडी भान्सलाई उपराष्ट्रपतिका रुपमा प्रस्तुत गरे ।
सम्बोधनको क्रममा ट्रम्पले एलन मस्कको पनि निकै तारिफ गरे । उनी रिपब्लिकन पार्टीको ‘न्यू स्टार’भएको बताउँदै ट्रम्पले भने, ‘मस्क वास्तवमै गज्जबका मान्छे हुन ।’
Categorized in अन्तर्राष्ट्रिय