२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

टेकुस्थित कार्यालयबाटै ग्यास बिक्री सुरु


प्रकाशित: बुधवार, २८ माघ २०८२, १५ः४० बजे
- महानगरखबर

काठमाडौं । बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्तिमा देखिएको असहजतालाई मध्यनजर गर्दै नेपाल आयल निगमले टेकुस्थित आफ्‌नै कार्यालयबाट सिधै ग्यास बिक्री वितरण सुरु गरेको छ ।


डिलरहरूबाट ग्यास पाउन नसकेका तथा अत्यावश्यक अवस्थामा रहेका उपभोक्तालाई लक्षित गर्दै निगमले यो विशेष व्यवस्था गरेको हो । 


निगमको एलपीजी विभागका प्रमुख विनीतमणि उपाध्यायका अनुसार उपभोक्तालाई थप सहजीकरण गर्ने उद्देश्यले आजदेखि टेकु कार्यालय परिसरबाटै विभिन्न ब्रान्डका ग्यास सिलिन्डर उपलब्ध गराउन थालिएको छ ।


‘अहिले नेपाल ग्यासका सिलिन्डरहरू कार्यालयमा झारिसकिएको छ र बिक्री वितरण सुरु भइसकेको छ,’ उपाध्यायले बताए। ‘उपभोक्ताको मागलाई सम्बोधन गर्न एभरेष्ट र सुगम ग्याससँग पनि समन्वय भइरहेको छ। ती कम्पनीका ग्यास पनि केही समयभित्रै टेकुबाट उपलब्ध हुनेछन ।’


नियमित डिलरमार्फत ग्यास प्राप्त गर्न नसकेका टेकु तथा आसपास क्षेत्रका बासिन्दालाई यसबाट राहत पुग्ने निगमको विश्वास छ । 


आयल निगमको यस कदमले बजारमा देखिएको कृत्रिम अभाव नियन्त्रण गर्न तथा उपभोक्तालाई सरकारी निकायबाटै प्रत्यक्ष राहत दिन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।


सिधै कार्यालयबाट ग्यास वितरण सुरु भएपछि उपभोक्ताले लामो समय लाइन बस्नुपर्ने वा डिलर धाउनुपर्ने बाध्यता केही हदसम्म कम हुने विश्वास गरिएको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex