काठमाडौं । काठमाडौंको टुकुचा खोलालाई सफा गरी वाग्मतीमा मिसाउन दैनिक डेढ करोड लिटर फोहोर पानी प्रशोधन गर्ने क्षमताको केन्द्र निर्माण भइरहेको छ ।
त्रिपुरेश्वर र ललितपुरको कुपण्डोल दोभानमा फैलिएको २.५३ हेक्टर क्षेत्रमा प्रशोधन केन्द्रको काम तीव्र गतिमा अघि बढेको हो ।
एसियाली विकास बैंक (एडिबी)को वाग्मती नदी बेसिन सुदृढीकरण परियोजनामार्फत प्राप्त सहुलियतपूर्ण ऋणमा निर्माण भइरहेको सो केन्द्रको लागत करिब तीन अर्ब १८ करोड रहेको छ । आयोजना आगामी मंसिरमा पूरा गर्ने लक्ष्य राखिएको छ ।
टुकुचा खोलाको प्रवाह पथान्तरण गरी प्रशोधनपछि वाग्मतीमा मिसाउने व्यवस्था मिलाइनेछ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङको सचिवालयका अनुसार प्रशोधन प्रक्रियाबाट ८०० किलोवाट विद्युत समेत उत्पादन हुनेछ ।
हाल त्रिपुरेश्वरतर्फका मुख्य ढल प्रशोधन संरचनाको निर्माण तीव्र गतिमा चलिरहेको छ । तर ललितपुरतर्फ स्थानीय अवरोध बढेपछि निर्धारित संरचनाको काम अघि बढ्न सकेको छैन ।
ललितपुरतर्फ विद्युत उत्पादनका लागि आवश्यक संरचना मात्र रहनेछन भने मुख्य प्रशोधन संयन्त्र त्रिपुरेश्वरमै निर्माण भइरहेको छ ।
मन्त्री घिसिङले निर्माण साइटको निरीक्षण गर्दै निर्माण प्रगति तथा अवरोधबारे परियोजना व्यवस्थापन, परामर्शदाता र निर्माण कम्पनीसँग छलफल गरे ।
उनले वाग्मती सफाइलाई सरकारको उच्च प्राथमिकतामा राखिएको उल्लेख गर्दै सहायक खोलाहरूको व्यवस्थापनलाई पनि तीव्रता दिने बताए ।
Categorized in प्रबिधि