७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

टिआरसी विधेयक राष्ट्रिय सभाबाट पारित 


प्रकाशित: विहिवार, ६ भाद्र २०८१, १८ः२० बजे
- महानगरखवर

काठमाडौं । सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिनसम्बन्धी (टीआरसी) विधेयक राष्ट्रिय सभाबाट पारित भएको छ ।


बिहीबार बसेको सभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले विधेयक पारित गरियोस भन्ने प्रस्तावमा सभाले सर्वसम्मत रुपमा स्वीकार गरेको हो ।


यस अघि भाद्र २ गते सभामा छलफलको लागि पेश गरिएको थियो र सभाका सांसदहरुले आ–आफ्नो विचार राखेका थिए । 


पछिल्लो पटक सरकारले २५ फागुन २०७९ मा प्रतिनिधि सभामा संशोधन विधेयक दर्ता गरेको थियो । जसलाई संघीय संसदको दुवै सभाले संशोधनसहित पारित गरेको हो ।


विधेयक पारित हुनु अगाडि राष्ट्रिय सभामा नेपाली काँग्रेसका सांसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले विधेयक कानुनमा रुपान्तरित भएसँगै आयोग गठनको प्रक्रिया शुरु हुने बताए ।


सभामा नेकपा एमालेका प्रमुख सचेतक भगवती न्यौपानेले शान्ति प्रक्रिया टुंग्याउन वर्तमान सरकार लागेको भन्दै निष्कर्षमा र्पुयाउन सबै सहयोगी हुनुपर्ने बताइन ।


प्रतिनिधि सभाले साउन ३० गते उक्त विधेयक पारित गरेको थियो । विधेयक राष्ट्रीयसभाबाट पारित भएपछि फेरि प्रतिनिसभा बैठकमा पेश हुने र सभामुखले प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाउने व्यवस्था छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex