सन् ७९ को अगस्ट २४ का दिन दक्षिण इटलीको भेसुभियस पहाडमा ज्वालामुखी फुट्यो । यसले त्यसबेला वरिपरिका नगरहरू खरानी र चट्टानका ताता धुलकणहरूले ढाकियो । २५००० जनसंख्या भएको पोम्पोई शहर पनि यसैमा प¥यो । कति भाग्न पाए भने धेरै मारिए । यस भयानक हादसाको वर्णन प्राचीन रोमका एक वकिल एवं लेखक भाइ चाहिँ प्लिनीले लेखेका छन् । उनले रोमन साम्राज्यका एक अडमिरल दाजु चाहिँ प्लिनी अरुलाई बचाउन कोसिस गर्दा गर्दै आफैँ शिकार बनेर मरे भन्ने कुरा पनि खुलाएका छन् । यो भयानक दैवी उत्पात्लाई उनले टाढाबाट देखेका थिए ।
पोम्पेइ र नजिकै रहेको हर्कालुनियम शहरहरू हराए, बिलाए । पछिको पुस्तालाई यसबारे कुनै ज्ञात भएन । सन् १५९९ मा आएर जब सार्नो नदीलाई डाइभर्ट गर्नका लागि भूमिगत कुलो खनिँदै थियो, त्यो बेला केही चित्रकला र अभिलेख भएको प्राचीन पर्खाल भेटियो । आर्किटेक्ट इञ्जिनियर डोमिनिको फोन्टानालाई बोलाइयो, उनले थप केही चित्रकलाहरू खनेर भेट्टाए, ती भन्दा बढी अरु केही भेट्टाउन सकिएन । एक ठाउँमा decurio Pompeii भनी कुँदिएको थियो, यसको अर्थ हुन्थ्यो, पोम्पेइको नगर सभासद् । त्यसै गरी नेपल्सका राजाका लागि ग्रीष्मकालीन दरबार बनाउनका लागि जग खन्दै गर्दा हर्कुलानियम शहर फेला परेको थियो । यो सन् १७३८ तिरको कुरा थियो । त्यस पछि सन् १७४८ मा आएर पोम्पेइ र हर्कुलानियमका बारे वास्तविकता पत्ता लगाउनका लागि उत्खननको परियोजना सुरु भयो । स्पेनी सेनामा रहेका इन्जिनियर अल्कुबिरेको नेतृत्वमा यो उत्खनन कार्य सुरु भएको थियो । बुर्बोनका चाल्र्स भनिने नेपल्सका राजा स्वयंले यसमा ठूलो चाख देखाए । यसबेला पर्खालहरूका साथै गुजुमुज्ज घरहरू पनि भेटिए । त्यस पछि विभिन्न विज्ञहरूको नेतृत्वमा उत्खनन कार्य चल्दै रह्यो ।
यी पुरातात्विक उत्खनन कार्यले यो शहरको इतिहासका साथै पहिलो शताब्दीमा रोमन जीवन शैली कस्तो थियो भन्ने कुरा पत्ता लगाउन पनि महत्वपूर्ण योगदान गरेको छ । प्राप्त सामग्रीहरूको आधारमा यो शहर ईसा पूर्व ६औँ वा ७औँ शताब्दीमा ओस्कान भन्ने जातिका मानिसहरूले निर्माण गरेको शहर हो भन्ने पत्ता लागेको छ । युनानी र फिनिसियन नाविकहरूले यो शहरलाई सुरक्षित बन्दरगाहको रूपमा प्रयोग गर्थे । पहिले त पोम्पेइ शहर कुमेइ भन्ने युनानी उपनिवेशको कब्जामा पुग्यो । त्यस पछि ईसा पूर्व ५औँ शताब्दीमा साम्नाइटस्हरूले यो शहरमाथि विजय प्राप्त ग¥यो । ईसा पूर्व दोस्रो शताब्दीमा यहाँ अपोलोको मन्दिर बनाइयो, जुन धार्मिक दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण थियो । नजिकै रहेको ऐतिहासिक एप्पियन राजमार्ग र दक्षिणबाट समुद्री मार्गबाट आउने सामान रोममा पु¥याउनका लागि यो शहर रणनीतिक रूपले निक्कै नै महत्वपूर्ण थियो । त्यसैले यहाँ विभिन्न समयमा विभिन्न क्षेत्र र जातिहरूको कब्जा र कब्जाका लागि युद्धहरू पनि भइरहे । ईसा पूर्व ८९ मा रोमन जनरल सुल्लाले यस शहरमा विजय प्राप्त गरे पछि यो रोमन साम्राज्यको अंग बन्यो ।
पोम्पेइ शहर इटलीको कम्पानिया क्षेत्रमा रहेको छ र नेपल्सबाट २३ किलोमिटर दक्षिणपूर्वमा अवस्थित छ । यस शहरलाई उत्खनन गरेर निकालेदेखि अर्थात् सन् १७५० तिरदेखि नै यो एक महत्वपूर्ण पर्यटकस्थल रहिआएको छ । १७औँ र १८औँ शताब्दीका युरोपका धनाढ्य वर्गका युवाहरू घुम्ने विभिन्न स्थलमध्ये पोम्पेइ पनि एक बन्यो । सन् २००८ को तथ्याङ्कअनुसार यहाँ वार्षिक २६ लाख पर्यटकले भ्रमण गर्ने गरेको छ र इटलीको पर्यटन आवागमनमा यो पहिलो नम्बरमा रहेको छ । सन् १९९७ मा युनेस्कोले यसलाई विश्व सम्पदा स्थलको रूपमा सूचीकृत गरिसकेपछि पर्यटकहरूको संख्यामा भारी वृद्धि भयो । यस कारण यहाँको पर्यटकहरूको चाप घटाउन प्रशासकहरूले नजिकका हर्कुलानियम, स्टाबिई, भिल्ला पोप्पाई लगायतका स्थलहरू भ्रमण गर्ने गरी टिकट वितरण गर्न थालेका छन् ।
ज्वालामुखीको चट्टानको धूलोले छोपिएका कारण त्यहाँ हावा र पानीले असर गर्न पाएन, यसका कारण उत्खनन पछि यो स्थल २००० वर्षअगाडि जस्तो थियो, त्यस्तै अवस्थामा भेटियो । तर खुलेपछि भने हावापानी, चोरी, पर्यटनको चाप आदिका कारण यो प्राचीन शहरको स्मारक खतरामा प¥यो । यसका साथै उत्खनन र पुनर्निर्माण गर्दा गरिएको लापरवाही पनि प्राचीन नगरी बिग्रनमा जिम्मेवार ठानिएको छ । यसै बीच नोभेम्बर ६, २०१० का दिन हाउस अफ ग्लाडियटर्स भवन भत्क्यो । यो भवन पर्यटकहरूका लागि खुला गरिएको थिएन । खाली बाहिरबाट मात्र हेर्न सकिन्थ्यो । तैपनि किन ढल्यो त भन्दा यसभित्र पानी चुहिएको मर्मत गर्न नसकेकोले हो भनियो । यसमा अनेक आरोपप्रत्यारोप पनि चल्यो ।
यस क्रमले गर्दा सन् २०१३ मा युनेस्कोमा आवश्यक संरक्षण कार्य नभएमा विश्व सम्पदाको खतराको सूचीमा राख्ने चेतावनी दियो ।
पोम्पेई पुरातात्विक पार्कको आधिकारिक वेबसाइट www.pompeiisites.org का अनुसार पूरै पोम्पेई घुम्नका लागि टिकट दर १५ युरो रहेको छ भने अहिले सहुलियत दर ९ युरो मात्र रहेको छ । त्यसै गरी ओप्लोन्टिस र बोस्कोरियाले भ्रमण गर्न लागि दर ७ युरो र हाल सहुलियत दर ४ युरो रहेको छ । पोम्पेइ, ओप्लोन्टिस र बोस्कोरियाले घुम्नका लागि १८ युरो रहेको छ भने सहूलियत दर १० युरो रहेको छ ।
हालसम्म उत्खननबाट देखिएको कुरामा ३ किलोमिटर व्यासको नगर पर्खालभित्र ६६ हेक्टर क्षेत्रफलभित्र फैलिएको नगरका भवनहरू, ढुङ्गाले छापिएको बाटो, मञ्चहरू, रङ्गशाला, कुश्तीशाला इत्यादि रहेका छन् ।आइसिसको मन्दिर, भेनसको मन्दिर र टुँडालमा बनाइएको लक्ष्मीको मूर्ति इत्यादि पनि यहाँ भेटिएका स्मारक र सामग्रीमा महत्वपूर्ण मानिन्छन् । जुलिया फेलिक्सको घर, मिनान्दरको घर इत्यादि पनि पोम्पेइका दर्शनीय घरहरू हुन् ।
यसै बीच गत अप्रिल २५ का दिन पोम्पेई पुरातात्विक पार्कका निर्देशक मासिनो ओसानाले पुरानो भग्नावशेषमा सुरक्षित हुन ओत खोजिरहेको देखिने एक जना बच्चाको अस्थिपञ्जर भेटिएको कुरा मिडियालाई बताए पछि पोम्पेई चर्चाको विषय बनेको थियो ।
Categorized in सम्पदा/संस्कृति