काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ७० वर्ष माथिका ज्येष्ठ नागरिकहरूको स्वास्थ्य अवस्था सर्वेक्षण र घरदैलोमै उपचार सेवा प्रदान गर्ने लक्ष्यका साथ विशेष अभियान सुरु गरेको छ ।
महानगरभित्रका सबै वडाहरुमा आजदेखि स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको हो । विशेषगरी आर्थिक अवस्था कमजोर भएका, हेरचाह गर्ने परिवारका सदस्य नभएका वा परिवारका सदस्य भएर पनि आफैँ अशक्त रहेका ज्येष्ठ नागरिकलाई प्राथमिकतामा राखेर यो कार्यक्रम सुरु गरिएको हो । शारीरिक अशक्तता वा दीर्घ रोगका कारण स्वास्थ्य संस्थासम्म जान नसक्ने नागरिकहरूलाई लक्षित गरी महानगरले यो सेवा थालनी गरेको हो ।
अभियानको प्रभावकारिता बुझ्न र स्वास्थ्यकर्मीहरूको हौसला बढाउन महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोल सोमबार वडा नं. ३१ र २७ का ज्येष्ठ नागरिकका घरमै पुग्नुभएको थियो ।
महावौद्धका ७७ वर्षीय अनन्तप्रसाद लाकोल, जो पक्षघातका कारण ५ वर्षदेखि ओछ्यानमै हुनुहुन्छ, उहाँको घरमा पनि टोली पुगेर स्वास्थ्य परीक्षण गरेको छ ।
टोलीले स्वास्थ्य परीक्षणः रक्तचाप, ग्लुकोज, ज्वरो, पल्स आदिको जाँच गर्ने गर्दछ ।
त्यसैगरी, विगतका उपचार, खाइरहेका औषधि, खानपान र व्यायामका बारेमा जानकारी सहितको परामर्श दिने ।
तत्काल आवश्यक पर्ने आधारभूत उपचारका साथै प्यारासिटामोल, आइबुप्रोफेन, एन्टासिड, जीवनजल जस्ता औषधि र ड्रेसिङ सामग्रीहरू निःशुल्क उपलब्ध गराउने स्वास्थ्य टोलीले गर्दछ ।
वडा नं. ३१ र २७ का वडाध्यक्षहरू सरोज ढकाल र योगेश खड्गीले प्रत्येक नागरिकको ढोकामा पुगेर दुःख, सुख सोध्ने र स्वास्थ्य अभिलेख राख्ने कार्यलाई आफूहरूले उच्च प्राथमिकता दिएको बताउनुभयो ।
महानगरको यो कदमले एक्लोपन र बिरामीपनमा रहेका ज्येष्ठ नागरिकहरूमा ठूलो भरोसा जगाएको छ ।
Categorized in पालिका