काठमाडौं । गत भदौ २३ र २४ मा काठमाडौंका विभिन्न स्थानमा भएको जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंले २६७ जनालाई पक्राउ गरेको छ ।
परिसरका एसएसपी रमेश थापाका अनुसार पक्राउ परेकामध्ये २६२ पुरुष र ५ महिला छन ।
प्रहरीका अनुसार पक्राउ परेकामध्ये १६ जनामाथि प्रहरी हत्या प्रकरणमा संलग्न रहेको आशंका छ । तीमध्ये १३ जनालाई अदालतले पुर्पक्षका लागि कारागार चलान गरेका छन् भने ३ जना हिरासतमै छन ।
यस्तै, विभिन्न मुद्दामा ४३ जना पुर्पक्षका लागि जेल पठाइएको परिसरका एसपी पवनकुमार भट्टराईले जानकारी दिए । ३३ जनालाई धरौटीमा रिहा गरिएको छ भने ८७ जनालाई हाजिरी जमानीमा छाडिएको छ ।
अहिलेसम्म ११३ जनामाथि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाविरुद्ध १५४ मुद्दा दर्ता भएका छन् ।
Categorized in राष्ट्रिय