२ माघ २०८२, शुक्रबार
Nepal Bank AD 2082 mansir

जेनजी आन्दोलनको क्षतिमा सवा पाँच अर्ब रुपैयाँ बिमा भुक्तानी


प्रकाशित: आइतवार, ६ पुस २०८२, १५ः५० बजे
- महानगरखबर

काठमाडौं । जेनजी आन्दोलन तथा प्रदर्शनका क्रममा गत भदौ २३ र २४ गते भएको भौतिक संरचना क्षतिको बिमा दाबीमध्ये हालसम्म ५ अर्ब १८ करोड ४१ लाख रुपैयाँ भुक्तानी भएको छ ।


बिमा प्राधिकरणका अनुसार यो रकम कुल दाबीको करिब २२.१० प्रतिशत मात्र हो ।


प्राधिकरणका अनुसार आन्दोलनका कारण २३ अर्ब ४४ करोड ९७ लाख रुपैयाँ बराबरको बिमा दाबी परेको थियो । तीमध्ये गत सातासम्म सवा पाँच अर्ब रुपैयाँभन्दा केही बढी रकम बिमा कम्पनीहरूले भुक्तानी गरिसकेका छन । 


यसमा अग्रिम भुक्तानीसमेत समावेश रहेको प्राधिकरणले स्पष्ट पारेको छ ।


हालसम्म बिमा कम्पनीहरूमा कुल ३ हजार ३ सय ३ वटा क्षति दाबी दर्ता भएका छन । बिमा कम्पनीहरूले गरेको भुक्तानी प्रक्रियालाई नियामक निकाय बिमा प्राधिकरणले समग्रमा सन्तोषजनक मानेको छ ।


भुक्तानीमध्ये सबैभन्दा ठूलो हिस्सा सम्पत्ति बिमातर्फ रहेको छ । घर, अपार्टमेन्टलगायत स्थिर सम्पत्तिसँग सम्बन्धित सम्पत्ति बिमाअन्तर्गत ३ अर्ब ८२ करोड १० लाख रुपैयाँ भुक्तानी भएको छ ।

 
यस शीर्षकमा ७ सय १० वटा दाबीमार्फत १९ अर्ब २ करोड ८५ लाख रुपैयाँ बराबरको क्षति माग दाबी परेको छ ।


सम्पत्ति बिमापछि मोटर बिमातर्फ दोस्रो ठूलो भुक्तानी भएको छ । मोटर बिमामा १ अर्ब २१ करोड ७६ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी भएको प्राधिकरणले जनाएको छ ।


यसैगरी, ठेकेदार तथा इन्जिनियरिङ बिमाअन्तर्गत ७ करोड ४९ लाख, पारवहन बिमामा १ करोड ५४ लाख तथा अन्य विभिन्न बिमातर्फ ५ करोड ४९ लाख रुपैयाँ भुक्तानी भएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex