काठमाडौं । सरकारले २३ र २४ भदौमा भएको जेनजी प्रदर्शन तथा आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूलाई मासिक निर्वाह भत्ता उपलब्ध गराउने भएको छ ।
घाइतेको अपाङ्गताको अवस्था र चोटको गम्भीरताका आधारमा आर्थिक सहायता तथा जीवन निर्वाह भत्ता दिने व्यवस्था गरिएको हो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार जेनजी प्रदर्शनमा घाइते भएका व्यक्तिलाई राहत सहायता उपलब्ध गराउनेसम्बन्धी कार्यविधि–२०८२ कार्यान्वयनमा आएसँगै राहत वितरण प्रक्रिया अघि बढाइएको हो ।
कार्यविधिअनुसार स्वास्थ्य मन्त्रालयका सहसचिवको संयोजकत्वमा गठन गरिएको प्राविधिक समितिले घाइतेलाई साधारण, मध्यम, गम्भीर र अति गम्भीर गरी चार वर्गमा वर्गीकरण गर्नेछ ।
मध्यम घाइतेले मासिक ४ हजार रुपैयाँ, गम्भीर घाइतेले मासिक ९ हजार रुपैयाँ र अति गम्भीर घाइतेले जीविकोपार्जन भत्ताबापत मासिक १८ हजार रुपैयाँ पाउने व्यवस्था गरिएको छ ।
साधारण घाइतेलाई भने नगद राहतको व्यवस्था गरिएको छैन ।
कार्यविधिको उपदफा (१०) अनुसार यो भत्ता महँगीको अवस्थालाई आधार मानी पुनरावलोकन गर्न सकिने प्रावधानसमेत राखिएको छ ।
घाइतेहरूको सिफारिस जिल्ला प्रशासन कार्यालयमार्फत हुने र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रमाणीकरण गर्ने व्यवस्था गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको संयोजकत्वमा भइरहेको घाइते वर्गीकरणको काम २९ मंसिरसम्म काठमाडौं, कास्की र चितवन जिल्लाका १८३ जनाको सम्पन्न भएको छ । वर्गीकरण अनुसार १८ जना अति गम्भीर, ५५ जना गम्भीर, ४० जना मध्यम र ७० जना सामान्य घाइते रहेका छन ।
काठमाडौं जिल्लामा मात्रै १६० जना घाइतेको वर्गीकरण गरिएको छ । तीमध्ये १६ जना अति गम्भीर, ५२ जना गम्भीर, ३७ जना मध्यम र ५५ जना सामान्य घाइते रहेका छन ।
कास्की जिल्लामा ७ जना घाइते वर्गीकृत भएका छन्, जसमा अति गम्भीर २, गम्भीर ३ र सामान्य २ जना छन्। चितवनमा वर्गीकरण भएका ७ जनामध्ये अति गम्भीर र गम्भीर कोही नभई मध्यम ३ र सामान्य ४ जना रहेका छन ।
स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका ७४ स्वास्थ्य संस्थाबाट प्राप्त विवरणअनुसार जेनजी आन्दोलनका क्रममा कुल २ हजार ५२२ जना घाइते भएका थिए ।
सरकारले घाइतेको अवस्थाअनुसार राहत र भत्ताको व्यवस्था गरेर सामाजिक तथा आर्थिक पुनःस्थापनामा सहयोग गर्ने उद्देश्य लिएको जनाएको छ ।
Categorized in राष्ट्रिय