काठमाडौं । काठमाडौं महानगरपालिकाले जीवित देवता श्रीगणेश र श्रीभैरवको निवासस्थान निर्माणका लागि शिलान्यास गरेको छ ।
महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले निर्माणस्थलको ब्रह्मस्थानमा जगपूजा तथा शिलान्यास गर्नुभएको हो ।
शिलान्यास कार्यक्रममा वडा नं. २४ का अध्यक्ष एवं हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रम उपसमितिका संयोजक विनोदकुमार राजभण्डारी, वडा नं. २३ का अध्यक्ष एवं विधायन समितिका संयोजक मचाराजा महर्जन, वडा नं. १९ का अध्यक्ष एवं पूर्वाधार समितिका संयोजक राजेशकुमार श्रेष्ठ र वडा नं. २० का अध्यक्ष राजेन्द्र मानन्धरले पनि निर्माणस्थलका विभिन्न कोणमा जगपूजा तथा शिलान्यास गर्नुभएको थियो ।

भवन निर्माणका लागि ६ करोड ७ लाख ९५ हजार ५७ रुपैयाँ लागत अनुमान गरिएको महानगरपालिकाले जनाएको छ ।
शिलान्यासपछि बोल्दै कार्यवाहक प्रमुख डंगोलले लामो प्रयास र मेहनतपछि ऐतिहासिक कामको सुरुवात भएको बताउनुभयो ।
बहुपक्षीय सहभागितामा निर्माण सम्पन्न हुने उल्लेख गर्दै उहाँले भवन निर्माणलाई आफ्नै घर बनाएसरह अपनत्व लिएर स्थानीयवासीले निगरानी गर्ने अपेक्षा व्यक्त गर्नुभयो ।
वडा नं. २३ का अध्यक्ष महर्जनले आफ्नो नौ वर्षे कार्यकालका महत्वपूर्ण उपलब्धिमध्ये श्रीगणेश र श्रीभैरवको निवासस्थान निर्माणको थालनी पनि एक भएको बताउनुभयो ।
कार्यक्रममा पूर्ववडाध्यक्ष पवित्र बज्राचार्य, पूर्वगणेश गणेश शाक्य तथा सम्पदा अभियन्ता गणपतिलाल श्रेष्ठले सम्पदाको संरक्षण र जीवन्तताका लागि महानगरपालिकाले थालेका कामको प्रशंसा गर्नुभएको थियो ।
परम्परागत नेवारी वास्तुकलामा भवन निर्माण
श्रीगणेश र श्रीभैरवको निवासस्थानका लागि साढे तीन तलाको वास्तुकलात्मक भवन निर्माण गरिनेछ । आर्किटेक्ट अमित बज्राचार्यका अनुसार भवनका प्रत्येक तलाको क्षेत्रफल १ हजार ३३८ दशमलव ७५ वर्गफिट हुनेछ । भवनको कुल क्षेत्रफल ४ हजार १६ दशमलव २५ वर्गफिट रहनेछ ।
परम्परागत नेवारी वास्तुकलामा आधारित भवन इँटा, काठ, चुना र सुर्कीजस्ता निर्माण सामग्री प्रयोग गरेर बनाइनेछ । भवनमा कलात्मक झिँगटीको छानोसमेत रहनेछ ।
भवनको भुइँतलामा सत्तल र भण्डार कक्ष निर्माण गरिनेछ । पहिलो तलामा जीवित देवताहरूको दर्शन कक्ष र निवास कक्ष रहनेछ भने दोस्रो तलामा भान्छा, शयनकक्षलगायतका कोठा बनाइने आर्किटेक्ट बज्राचार्यले जानकारी दिनुभयो ।
यस भवन निर्माणसँगै जीवित देवता श्रीगणेश र श्रीभैरवको निवासस्थानलाई परम्परागत नेवारी वास्तुकला र सम्पदाको मौलिकता कायम राख्दै व्यवस्थित बनाउने अपेक्षा गरिएको छ ।
Categorized in सम्पदा/संस्कृति