दिल्लीको कुतुब मिनारका बारे त सबैले जानेकै छन् । तर यो मिनार पनि अफगानिस्तानको जाममा रहेको मिनारको नक्कल गरी बनाइएको हो भन्ने कुरा चाहिँ थोरैलाई मात्र थाहा छ । दिल्लीमा गुलाम वंशका सुल्तान कुतुबुद्दीन ऐबकले मिनारको निर्माण सन् ११९२ मा सुरु गराएका थिए । जामको मिनार सन् ११९० मा बनिसकेको मानिन्छ । जामको मिनार ६५ मिटर अग्लो छ भने कुतुब मिनार ७३ मिटर अग्लो छ । बौद्धगयाको महाबौद्ध मन्दिर, त्यसैको नक्कल गरी बनाइएको पाटनको महाबौद्ध मन्दिरमा जस्तो ईंटमै कलाको दर्शन पाइन्छ, त्यसरी नै जामको मिनार पनि ईंटमा रहेको कलात्मकताका लागि प्रसिद्ध छ ।
अफगानिस्ताको ३४ प्रान्तहरूमध्ये घोर वा घुर प्रान्त मध्य अफगानिस्तानको उत्तरपश्चिमतिर रहेको छ । यहाँको सहराक जिल्लामा समुद्री सतहभन्दा १९०० मिटर माथि रहेको उबडबाखड भूमि रहेको उपत्यकामा हरिरुड र जाम नदीको संगमनेर यो मिनार रहेको छ । यो स्थल हेरातबाट २१५ किलोमिटर पूर्वमा पर्दछ । सुदूर र दुर्गम क्षेत्रमा रहेकाले जान आउन मुस्किल छ । यस मिनारको उचाइ ६५ मिटर रहेको छ भने जगमाथिको व्यास अष्टभुज आकारमा ९ मिटर रहेको छ । माथि माथितिर चोसो पर्दै गएको सिलिन्डर आकारमा चार तहहरू रहेका छन् । कुफिक लिपिमा यहाँ अभिलेख पनि कुँदिएको पनि बाहिर नै छ । यसमा कुरानका आयातहरू पनि कुँदिएका छन् । मिनारभित्र माथिसम्म चढ्नका लागि सिँढी पनि रहेको छ ।
यसको निर्माण घुरिद वंशका सुल्तान घियाउद्दीनले गराउन लगाएका थिए । यो मिनार यहाँ रहेका कारणबाट यहाँ पहिले घुरिद वंशका सुल्तानहरूको ग्रीष्मकालीन राजधानी फिरुजकुह रहेको अनुमान गरिएको छ । यहाँ इस्लाम र यहूदी धर्म मान्ने मानिसहरू बसोबास गर्थे । यस क्षेत्रलाई कछुवा पर्वत वा टोर्टस माउन्टेन भन्ने गरिएको छ । कुनै समय यो स्थल निक्कै समृद्ध थियो । चङ्गेज खानका छोरा ओगडे खानले यहाँ आक्रमण गरे पछ यो नगर ध्वस्त भएको थियो । यसको नजदीकमा कुश्काक पहाड रहेको छ र यहाँ हिब्रू अभिलेखहरू रहेका छन् । हरी नदीको किनारमा र मिनारको पूर्वतिर घुरिद वंशको पालामा बस्तीहरू रहेको अनुमान छ ।
शताब्दीयौँसम्म बाहिरको विश्वका लागि यो मिनारबारे कुनै जानकारी थिएन । अफगान सीमा कमिसनमा काम गर्ने सर टमस होल्डिचले यो मिनार पत्ता लगाएका थिए । एन्ड्रे मारिक र वियत भन्ने फेन्च पुरातत्वविद्हरूले यसको अध्ययन गरी लेखहरू प्रकाशित गरे पछि सन् १९५७ देखि यसमा विश्वको ध्यान खिँचियो । सन् १९७० को दशकमा हबर्गले यहाँ केही सर्भेहरू सम्पन्न गरे । सन् १९७९ मा तत्कालीन सोभियत संघमा सेना पठाए पछि बाहिरी विश्वसँग अफगानिस्तानको फेरि सम्पर्क विच्छेद भयो ।
सन् २००२ मा युनेस्कोले जामको मिनारलाई विश्व सम्पदा सूचीमा राख्नुका साथ खतरामा रहेको विश्व सम्पदा घोषणा ग¥यो । नदीको कटानका कारण यो स्मारक अहिले पनि खतरामा रहेको छ । ८०० वर्ष अगाडि निर्माण भए देखि कुनै ठूलो मर्मत कार्य नभएको र बाढीले गर्दा यो मिनार ढल्नसक्ने भन्दै बीबीसीले २४ अगस्ट २०१४ मा समाचार प्रकाशन गरेको थियो ।
गत वर्ष २०१७ सेप्टेम्बरमा युनेस्कोको विशेषज्ञहरूको एक टोली अफगान सेनाको एस्कर्टिङमा यो स्थल आइपुगेको थियो । उनीहरूले यस स्थलको निरीक्षणका साथ विभिन्न कोणबाट फोटोहरू खिँचे । हेलिकप्टर र ड्रोनबाट पनि फोटो खिँच्ने काम सम्पन्न भएको छ । हाल यी फोटाहरू र ३डी तस्बीरहरूको विश्लेषण कार्य भइरहेको छ । उपत्यकाका विभिन्न स्थलमा निरीक्षण गर्दा फुटेका माटाका भाँडाहरू पनि भेटिए । यसबाट यस स्थलमा पहिले रहेको बस्तीमा आक्रमणकारीहरू आएर लुटपाट मचाएको विश्लेषण गरिएको छ ।
घियासुद्दीनले लाहोरमा गजनवीहरूलाई परास्त गरिसकेपछि त्यसको स्मारकको रूपमा यसको निर्माण गरिएको मानिएको भएता पनि सन् १९७० को दशकमा बेलायतको अफगान अध्ययन संस्थाका विशेषज्ञ पुरातत्वविद् डा. राल्फ पिन्डर विल्सनले यस स्थलको अध्ययन पछि तत्कालीन इतिहास खोतल्दै मुइजअद्दीनले पृथ्वीराज चौहानमाथि विजय प्राप्त गरे पछि यो मिनार खडा गरिएको बताएका छन् ।
यो मिनारका साथ जोडिएको एक मस्जिद पनि थियो, जो बाढीले ध्वस्त बनाएको भन्ने अनुमान पनि गरिएको छ । पछिल्लो कालमा आएर मिनारको तलतिर नदीदेखि रिटेनिङ वाल लगाइएको भए पनि बाढी, भित्रभित्रै खोलाले माटो बगाउने, नजिकैको क्षेत्रमा भएका बाटा निर्माणका दौरान भएको थर्काई, जानाजानी बिगार्न चाहनेहरूको कारण र वरिपरि खाल्डो खनी विभिन्न पुरातात्विक वस्तु चोर्नेहरूका कारण यो स्मारक खतरामा रहेको छ ।
सन् २००१ मा संयुक्त सेनाले अफगानिस्तानमा आक्रमण गरेपछि तालिबानीहरू आफ्नो अखाडामा लुक्न गए । यस पछि यहाँ पुराना सुन र गरगहनाका साथ पुरातात्विक वस्तु खोजी गरी बेच्नेहरूले डेरा जमाए । तिनीहरूले फेला पारेको सामान हेरात, काबुल र तेहरानमा विक्री भयो । हाल काबुलमा कछुवा पर्वत प्रतिष्ठान (टर्कस माउन्टेन फाउन्डेसन) नामक एक गैर–सरकारी संस्था खोलिएको छ । यस संस्थाले त्यस क्षेत्र वरिपरिका गाउँलेहरूलाई पुरातत्व र सम्पदाको महत्वबारे सिकाई त्यसको संरक्षणका लागि उत्प्रेरणा प्रदान गर्दै आइरेहको छ । यसका साथै हस्तकलाको सिप सिकाउँदै स्थानीयहरूलाई स्वरोजगार पनि प्रदान गर्दै आइरहेको छ । बेलायतका अधिराजकुमार प्रिन्स अफ वेल्स चाल्र्सको संरक्षकत्वमा यसको स्थापना सन् २००६ मा भएको हो । टोर्टस माउन्टेन फाउन्डेसनको वेबसाइटका अनुसार हाल यस फाउन्डेसनले मध्यपूर्व र म्यान्मारमा पनि आफ्नो कार्य विस्तार गरेको छ ।
Categorized in सम्पदा/संस्कृति