काठमाडौं । काठमाडौँ महानगरपालिकाका वडा नं. ८ जयबागेश्वरी क्षेत्रमा रहेका ७५ वटा भवनलाई परम्परागत मौलिक स्वरूपमा रूपान्तरण गर्ने काम सुरु हुने भएको छ । यसका लागि बोलपत्र प्रक्रियामार्फत निर्माण पक्ष छनोट भइसकेको छ र करिब ९ करोड ४ लाख ८९ हजार ३७७ रुपैयाँमा सम्झौता सम्पन्न भएको छ ।
यस योजनाको लागत अनुमान १० करोड ९० लाख ५७ हजार ९४४ रुपैयाँ निर्धारण गरिएको थियो ।
योजना अनुसार जयबागेश्वरी मन्दिरदेखि सेतोढोकासम्मको करिब २९० मिटर सडक दायाँ–बायाँ रहेका भवनको सडकतर्फको मोहडा परम्परागत मल्लकालीन वा राणाकालीन शैलीमा रूपान्तरण गरिनेछ। घरको पेटी, कार्निस, बलेँसी, झिँगटीको छानो, बाहिरबाट देखिने इँटाको गारो, बुट्टेदार झ्याल, छिँडी, मातः, च्वतं र बुईंगसहितको चारतले संरचना मल्लकालीन शैलीका प्रमुख पहिचान हुन ।
वडा ८ का अध्यक्ष तथा सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतका अनुसार आधुनिक संरचनालाई यही शैलीमा फर्काउने उद्देश्य रहेको छ ।
यस सडक क्षेत्रमा करिब २५० घरधुरी छन्। तीमध्ये सडक वा खुला स्थानबाट देखिने अगाडिको भागको रूपान्तरण गरिनेछ ।
यस क्षेत्रमा सेतोढोका, विभिन्न फल्चा, महादेव मन्दिर, चैत्य, इनार, डवली, स्थान गणेश, कुमारी द्यः, नवग्रह मूर्ति लगायत धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्वका सम्पदा अवस्थित छन ।
यस क्षेत्रमा नवदूर्गा नाच, १२ वर्षे हरिसिद्धि नाच, त्रिशुल जात्रा, बच्छलेश्वरी जात्रा, श्रीकृष्ण जात्रा, गाईजात्रा, खड्गजात्रा, रोपाइँ जात्रा, यलाँ पर्व, गुंला पर्वजस्ता महत्वपूर्ण सांस्कृतिक गतिविधि सञ्चालन हुँदै आएका छन्। परम्परा, संस्कार र आस्थासँग जोडिएका देशोद्वार पूजा, कुमार–कुमारी पूजा, बालाचतुर्दशीमा सतबीज छर्ने प्रथा पनि यही क्षेत्रबाट सुरु हुने गरेको छ ।
ग्वलःदे क्षेत्रलाई कान्तिपुरको छुट्टै ऐतिहासिक सहरका रूपमा चिनिने गरिन्थ्यो । ९ अंकको तान्त्रिक महत्वका आधारमा ९ पोखरी, ९ ढुङ्गेधारा, ९ इनार, ९ ढोका, ९ शक्तिपीठ, ९ डवली, ९ टोल र ९ थरी जात यसको विशेषता मानिन्छ। यहाँका परम्परागत सि गुठि खलहरूले बाजा, संस्कार र संस्कृतिको निरन्तरता दिलाउँदै आएका छन ।
लिच्छवीकालीन पुरानो सहरको पहिचान जोगाउँदै मौलिक स्वरूप पुस्तान्तरण गर्नु योजनाको मुख्य उद्देश्य हो। यसक्रममा करिब ३ रोपनी क्षेत्रफलमा फैलिएको ‘यःपुखु’ (मनपर्ने पोखरी) को पुनर्निर्माण पनि गरिनेछ ।
काठमाडौँ महानगरपालिकाले ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक तथा वास्तुकलात्मक महत्वका भवनहरूको मौलिक रूप संरक्षण र पुनस्र्थापनाका उद्देश्यले कार्यक्रम कार्यान्वयनमा ल्याएको हो ।
Categorized in वडा