काठमाडौं । स्वर्गीय जनकवि दुर्गालाल श्रेष्ठको स्मृतिमा ‘अक्षरयात्रा–दशक आठ’ समारोह आयोजना गरिएको छ । श्रेष्ठको ४५औँ दिनको पुण्यतिथिका अवसरमा मंगलबार वसन्त चौधरी फाउण्डेशन र दुर्गालाल साहित्य प्रतिष्ठानको संयुक्त आयोजनामा समारोह सम्पन्न भएको हो ।
समारोहमा जनकवि श्रेष्ठको जीवन, साहित्यिक यात्रा र योगदान समेटिएको वृत्तचित्र ‘अक्षरयात्रा : दशक आठ’ प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा श्रेष्ठका विभिन्न कविता तथा गीत वाचन गर्दै उनलाई साहित्यिक श्रद्धाञ्जली अर्पण गरिएको थियो। सो अवसरमा ‘अक्षरमहर्षि सम्मान’ समेत प्रदान गरिएको थियो ।
कार्यक्रममा कवि वसन्त चौधरीले ‘अक्षराञ्जली’ समर्पण गर्दै स्मृति कथन तथा रुबाई प्रस्तुत गरेका थिए। सहभागी वक्ताहरूले श्रेष्ठको साहित्यिक योगदान र नेपाली तथा नेपाल भाषा साहित्यमा पुर्याएको योगदानको चर्चा गरेका थिए ।
‘फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार’ जनकवि दुर्गालाल श्रेष्ठको सर्वाधिक लोकप्रिय सिर्जनामध्ये एक हो ।
नेपाली र नेपाल भाषामा कविता तथा गीत सिर्जना गरेका श्रेष्ठले साहित्यका माध्यमबाट जनजीवन, सामाजिक चेतना र मानवीय संवेदनालाई अभिव्यक्त गरेका थिए ।
श्रेष्ठले नेपाल भाषा परिषद्बाट सन् २००३ मा ‘जनकवि’ को उपाधि प्राप्त गरेका थिए । उनलाई मदन पुरस्कार गुठीले २०६७ सालमा जगदम्बाश्री सम्मान प्रदान गरेको थियो। यसबाहेक उनले विभिन्न साहित्यिक सम्मान तथा पुरस्कारसमेत प्राप्त गरेका थिए ।
आमा आशामोती श्रेष्ठ र बुबा गणेशलाल श्रेष्ठका सुपुत्रका रूपमा वि.सं. १९९२ मा काठमाडौंमा जन्मिएका श्रेष्ठले पद्मोदय माध्यमिक विद्यालयबाट विद्यालय तहको शिक्षा हासिल गरेका थिए ।
उनको पहिलो कविता ‘दुई थोपा’ सन् १९५२ मा सुस्केरा पत्रिकामा प्रकाशित भएको थियो ।
श्रेष्ठका नेपाली तथा नेपाल भाषामा गरी ६ दर्जनभन्दा बढी कृति प्रकाशित छन् । लामो साहित्यिक यात्रामा कविता, गीत तथा अन्य साहित्यिक सिर्जनामार्फत उनले नेपाली साहित्यमा विशिष्ट योगदान पुर्याएका थिए ।
श्रेष्ठको २०८३ साउन ३१ गते बूढानीलकण्ठस्थित आफ्नै निवासमा निधन भएको थियो। उनको निधनपछि पनि उनका सिर्जना र साहित्यिक योगदानलाई विभिन्न कार्यक्रममार्फत स्मरण तथा सम्मान गर्ने क्रम जारी छ ।
Categorized in समाज