काठमाडौं । राजधानीको जडिबुटीमा रोकिराखेको बसमा स्कुटर ठोक्किँदा स्कुटरमा सवार दुई जनाको मृत्यु भएको छ ।
शुक्रबार बिहान करिब २ः५० बजे जडिबुटीस्थित आकाशे पुल नजिक सडकछेउमा पार्क गरिएको बा प्र ०१–००६ ख ४२४३ नम्बरको अरनिको यातायातको बसको पछाडिपट्टि लु ४३ प ४९३८ नम्बरको स्कुटर ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिल बोहराले जानकारी दिए ।
ठक्करमा गम्भीर घाइते भएका स्कुटर चालक र पछाडि सवार व्यक्तिलाई तत्कालै ट्रमा सेन्टर लगिएको थियो तर उपचारकै क्रममा दुवैजनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा नवलपरासी सुनौल–१ का २२ वर्षीय शिरिस पौडेल, जो हाल भक्तपुर लोकन्थली बस्दै आएका थिए, र काभ्रेपलाञ्चोक पाँचखाल–२ का २३ वर्षीय नितेश नेपाल रहेका छन ।
डाक्टरले पौडेललाई बिहान ३ः३० बजे र नेपाललाई ३ः४७ बजे मृत घोषणा गरेका थिए ।
दुर्घटनापछि बस चालक दोलखा भिमेश्वर–७ घर भई हाल काडाँघारी बस्ने २५ वर्षीय सुभाष तामाङलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ ।
Categorized in समाज