काठमाडौँ । काठमाडौैं महानगरपालिकाले आफ्ना छिमेकी नगरलाई समृद्ध बनाउने नीति लिएको छ ।
महानगरको २९ औं बोर्ड बैठकले छिमेकी नगरलाई नगर साझोदरी कार्यक्रम अन्तर्गत हरियाली प्रवद्र्धन, पार्क निर्माण र सार्वजनिक जग्गा संरक्षण कार्यका लागि प्राप्त प्रस्तावका आधारमा एक÷एक करोड सहयोग उपलव्ध गराउने भएको छ ।
यसै कार्यक्रमअन्तर्गत गएको असार २० गते टोखा नगरलाई बौडेश्वर महादेव क्षेत्रमा बाल उद्यान निर्माणका लागि रु एक करोड प्रदान गरिसकेको छ ।
बैठकले अन्तर सरकार साझेदारी कार्यक्रम सञ्चालन कार्यविधि २०७५ अनुमोदन गरेको कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए ।
त्यसैगरी बैठकले पर्यटन वर्ष–२०२० लाई सफल बनाउन सम्पदा समितिका संयोजक एवं वडा १८ का अध्यक्ष न्हुच्छेकाजी महर्जनको संयोजकत्वमा १७ सदस्यीय समिति गठन गरेको छ ।
समितिको सदस्यसचिवमा सम्पदा तथा पर्यटन विभागका विभागीय प्रमुख रहने व्यवस्था गरिएको छ ।
बैठकले भवन निर्माण मापदण्ड पुनरवलोकन गर्न प्रवक्ता ईश्वरमान डङ्गोलको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ । समितिको सदस्यहरुमा वडाध्यक्ष मुकुन्द रिजाल, शशिलाल श्रेष्ठ, मोहन बिष्ट र चिनियाँमान बज्राचार्य रहेका छन् ।
शहरी सुरक्षाका लागि सिसी क्यामरा जडान गर्न नेपाल प्रहरीसँग सहकार्य गर्ने र यसका लागि प्रहरीलाई रु तीन करोड उपलब्ध गराउने पनि बैठकले निर्णय गरेको छ ।
Categorized in समाज