काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका ५१ वटा दुई पाङ्ग्रे सवारी साधन ट्राफिक प्रहरीले फेला पारी धनीलाई हस्तान्तरण गरेको छ ।
बिहीबार काठमाडौं उपत्यका प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा कार्यालयका निमित्त प्रमुख डिआइजी ओमप्रसाद अधिकारी र ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी नवराज अधिकारीले संयुक्त रूपमा सवारी साधन बुझाइदिएका हुन ।
फेला पारिएका सवारीमध्ये ३३ थान मोटरसाइकल र १८ थान स्कुटर रहेका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा परेका निवेदनको आधारमा खोजतलास शुरु गरिएको थियो ।
सो क्रममा केही सवारी साधन वास्तविक नम्बर प्लेटमै फेला परे पनि केहीमा नक्कली नम्बर प्लेट जडान गरिएको ट्राफिक प्रवक्ता एसपी नरेशराज सुवेदीले जानकारी दिए ।
चोरीका सवारी साधन गोंगबु, नयाँ बसपार्क, बालाजु, सीतापाइला, रानीबारी, बौद्ध, बालकुमारी, कोटेश्वर, काँडाघारी, पुतलीसडक, अनामनगर, सिंहदरबार, मालिगाउँ, गठ्ठाघर, लुभु लगायत उपत्यकाका विभिन्न क्षेत्रमा ट्राफिक प्रहरीको खोजतलास टोलीले फेला पारेका हुन ।
आज हस्तान्तरण गरिएका ५१ सहित साउन यतादेखि ९१ वटा चोरी भएका सवारी साधन धनीलाई बुझाइएर फरक पारिएको ट्राफिक प्रहरीले जनाएको छ ।
यसैबीच चोरीका ९ वटा दुई पाङ्ग्रे सहित चोरीमा संलग्न १९ जनालाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि उपत्यकाका विभिन्न प्रहरी कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ ।
Categorized in समाज