काठमाडौं । निर्वाचन आयोग नेपालले आगामी चैत २२ गतेदेखि मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुनः सञ्चालन गर्ने भएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ घोषणा भएपछि गत मङ्सिर ६ गतेदेखि स्थगित गरिएको उक्त कार्य अब पुनः सुरु गरिने आयोगले जनाएको छ ।
आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपाली नागरिकले आफ्नो विवरणका आधारमा अनलाइन प्रणालीमार्फत सजिलै मतदाता नामावलीमा नाम दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको छ ।
त्यसैगरी, राष्ट्रिय परिचयपत्र प्रणालीमा आबद्ध नभएका नागरिकले आयोगको अनलाइन प्रणालीमार्फत फारम भरेपछि आफ्नो फोटो तथा औँठाछापसहितको जैविक विवरण दिन सम्बन्धित प्रदेश वा जिल्ला निर्वाचन कार्यालयमा स्वयं उपस्थित हुनुपर्नेछ ।
आयोगले मतदाता नामावलीमा भएका त्रुटि सच्याउने, दोहोरो नाम हटाउने, मृत्यु तथा बसाइँसराइँसम्बन्धी विवरण अद्यावधिक गर्ने कार्यसमेत अनलाइन माध्यमबाट गर्न सकिने जनाएको छ ।
आयोगद्वारा आज जारी विज्ञप्तिमा नागरिकलाई सहज र प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले यस प्रणालीलाई थप व्यवस्थित बनाइएको उल्लेख गरिएको छ ।
विज्ञप्तीः

Categorized in राष्ट्रिय