२ माघ २०८२, शुक्रबार
Nepal Bank AD 2082 mansir

चेपाङ विद्यार्थीले बनाएको ‘स्लिपर टु स्याट’ स्याटेलाइट चीनबाट सफल प्रक्षेपण


प्रकाशित: बुधवार, २४ मंसिर २०८२, १३ः०० बजे
- महानगरखबर

काठमाडौं । चेपाङ समुदायका विद्यार्थीहरूले निर्माण गरेको स्याटेलाइट चीनबाट सफलतापूर्वक प्रक्षेपण गरिएको छ । 


‘स्लिपर्स टु स्याट’ मिसनअन्तर्गत तयार भएको उक्त स्याटेलाइट बुधबार बिहान पौने १० बजे चीनको इनर मंगोलियास्थित चिउक्वान स्याटेलाइट लन्च सेन्टरबाट काइनेटिका–वान रकेटमार्फत उडान भरिएको अन्तरिक्ष प्रतिष्ठान नेपालले जनाएको छ ।


नेपालमै डिजाइन र निर्माण गरिएको यो क्यूबस्याट देशभित्रै बनेको पहिलो स्याटेलाइटका रूपमा इतिहासमा दर्ता भएको प्रतिष्ठानले जनाएको छ । 


चेपाङ समुदायका कक्षा ७ र ८ मा अध्ययनरत विद्यार्थीहरू प्रत्यक्ष रूपमा स्याटेलाइट निर्माणमा सहभागी भएका थिए । ‘एक जोर चप्पल कसरी किन्नु भन्ने सोच्नुपर्ने समुदायबाट स्याटेलाइट निर्माणसम्मको यात्रा’ भन्ने भावनालाई ‘स्लिपर टु स्याट’ मिसनको थिम बनाइएको थियो । 


अन्तरिक्ष प्रतिष्ठानले विकसित गरेको ‘उपग्रह बस’ प्रणालीमा विद्युत शक्ति प्रणाली (ईपीएस), ओन–बोर्ड कम्प्युटर (ओबीसी) तथा सञ्चार प्रणालीलाई एउटै प्रिन्टेड सर्किट बोर्ड (पीसीबी) मा समेटिएको छ । 


यसमा नेपाली–स्याट वान र मुनाल उपग्रहहरूले प्रयोग गरेको प्रविधिलाई अझ उन्नत रूपमा पुनः डिजाइन गरिएको स्याटेलाइट मिसनका म्यानेजर, इन्जिनियर ऋषभ अधिकारीले बताए । 


उनका अनुसार यस प्रविधिले क्यूबस्याटभित्र अन्य अतिरिक्त उद्देश्यका उपकरण वा प्रयोगका लागि पर्याप्त स्थान उपलब्ध गराउँछ ।


‘स्लिपर टु स्याट’ मिसनले विशेषगरी प्राकृतिक विपत्तिका बेला आवश्यक पर्ने तथ्यांक प्रसारण र निगरानीमा सहयोग पुग्ने अपेक्षा लिइएको प्रतिष्ठानले जनाएको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex