काठमाडौं । चीनले नेपाललाई ३ लाख डोज कोरोना भ्याक्सिन दिने भएको छ ।
चीनले आफ्नो देशमा उत्पादन भएको कोरोनाभाइरसविरूद्धको खोप नेपाललाई अनुदानमा दिने काठमाडौंस्थित चिनियाँ दूतावासले जनाएको छ ।
संसारभरि र चीनभित्रै पनि ठूलो माग भए पनि नेपाल–चीन मित्रताको महत्वका कारण चीनले नेपाललाई भ्याक्सिन दिन लागेको दूतावासले उल्लेख गरेको छ ।
चीनले दिएको भ्याक्सिन १ लाख ५० हजार जना मानिसमा लगाउन मिल्नेछ । चीनले दिन लागेको भ्याक्सिन चिनियाँ कम्पनी सिनोफार्मले विकास र उत्पादन गरेको हो । यो भ्याक्सिनले चीनमा यसअघि नै सशर्त अनुमति पाइसकेको र जनवरी ३१ सम्म २ करोड ४० लाख मानिसलाई दिइसकेको दूतावासले जनाएको छ ।
खोपको प्रभावकारिता ७९.३४ प्रतिशत रहेको दाबी गरिएको छ । नेपालमा चिनियाँ खोपलाई अहिलेसम्म अनुमति दिइएको छैन । दूतावासले नेपाली अधिकारीहरूसँग खोपको अनुमतिका लागि संयोजन गरिरहेको र छिटै खोप नेपाललाई उपलब्ध गराउने दुतावासले बताएको छ ।
Categorized in स्वास्थ्य