काठमाडौं । चाबहिलस्थित ओम शाही टन्च सेन्टर सुन पसलका व्यवसायी अमोल भोस्लेलाई लुटपाट गर्ने २ जना पक्राउ परेका छन ।
व्यवसायी तथा पसल सञ्चालक ३४ वर्षीय भोस्ले भारतीय नागरिक हुन ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा दाङ सौडियार घर भई काठमाडौं शान्तिनगर बस्दै आएका २८ वर्षीय महेश विश्वकर्मा र दाङकै घोराही उपमहानगरपालिका–८ का २४ वर्षीय राजेन्द्र सिन छन ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीले गत बुधबार राती पसल बन्द गरेर घर जाने क्रममा १२ लाख रुपैयाँ र ४२ तोला सुन लुटपाट गरेको जानकारी दिए ।
उनीहरुले भोस्लेको आँखामा खुर्सानी छर्केर उनीहरूले लुटपाट गरेका थिए ।
प्रहरीले उनीहरुको साथबाट एक लाख ६६ हजार नगद, दुईवटा मोटरसाइकल, २६१ ग्राम सुन र तरबार तथा खुँडालगायतका सामग्रीसमेत बरामद गरेको छ ।
काठमाडौं जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थप गरी यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तस्वीरः नेपाल प्रहरी
Categorized in समाज