काठमाडौं । सरकारले नेपाल प्रहरीको ३२औं महानिरीक्षक (आईजीपी) मा चन्द्रकुवेर खापुङलाई नियुक्त गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले खापुङलाई १९ भदौदेखि लागू हुने गरी आईजीपीमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिएका छन ।
हालका आईजीपी दिपक थापा १८ भदौ राति १२ बजेदेखि अनिवार्य अवकाशमा जाने भएकाले नयाँ नियुक्ति गरिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली शनिबार चीन भ्रमणमा प्रस्थान गर्ने भएकाले त्यसअघि बसेको मन्त्रिपरिषद्ले खापुङको नियुक्ति टुंगो लगाएको हो ।
खापुङ हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रमुख रहेकाले अब प्रहरी संगठनको नेतृत्व सम्हाल्ने छन । उनी थापासँगै प्रहरी सेवामा इन्स्पेक्टर भर्ना भएका थिए ।
यो ब्याचका अफिसरहरूलाई तीन चरणमा नियुक्त गरिएको थियो ।
पहिलो लटमा नियुक्त बसन्तबहादुर कुँवर गत चैतमा ३० वर्षे सेवा अवधि पूरा गरी अवकाशमा गइसकेका छन । दोस्रो लटबाट सुदीप गिरी र टेकबहादुर तामाङलाई पछि पार्दै थापा आईजीपी बनेका थिए । तेस्रो लटमा नियुक्त खापुङ अब एकल प्रतिस्पर्धीको रूपमा आईजीपीमा पुगेका हुन ।
उनसँगै इन्स्पेक्टरमा भर्ना भएका एआईजी लालमणि आचार्य र कृष्णहरि शर्मा पोखरेल उमेर हदका कारण अवकाशमा गइसकेका वा जान लागेका छन ।
यदि नयाँ प्रहरी ऐन जारी भएमा खापुङको सेवाअवधि ६ महिना थपिन सक्छ, नभए उनी पनि ३० वर्षे सेवा अवधि पूरा गरी आगामी कात्तिक २६ गते राति १२ बजेदेखि अवकाशमा जानेछन ।
Categorized in राष्ट्रिय