काठमाडौं । घुस डिलसम्बन्धी अडिओमा नाम जोडिएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएका छन ।
गुप्ताले मंगलबार बिहान प्रधानमन्त्री केपी शर्मा ओली समक्ष राजीनामा पत्र बुझाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
राजीनामापछि प्रतिक्रिया दिंदै मन्त्री गुप्ताले आफू प्रविधिको शिकार बनेको दाबी गरेका छन ।
“कहिलेकाहीँ नखाएको विष पनि लाग्दो रहेछ, म अहिले त्यसैको शिकार भएँ,” गुप्ताले भनेका छन, “आरोपको सत्यतथ्य पत्ता लगाउन अनुसन्धानमा सहयोग पुगोस् भनेर मैले स्वतःस्फूर्त रुपमा राजीनामा दिएको हुँ ।”
गुप्ताले पार्टीले तोकेको अन्य जिम्मेवारी इमान र निष्ठाका साथ पूरा गर्ने प्रतिवद्धता जनाएका छन ।
यसअघि भूमि आयोग कास्कीको अध्यक्ष बनाउन २५ लाख रुपैयाँ र मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुखको सरूवा रोक्न ५३ लाख रुपैयाँको घुस लेनदेनबारे अडिओ सार्वजनिक भएको थियो ।
अडिओ सार्वजनिक भएलगत्तै सत्तापक्ष र विपक्षी नेताहरूले मन्त्री गुप्ताको राजीनामाको माग गरेका थिए।
नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पनि गुप्ताले पदबाट राजीनामा दिएको पुष्टि गरेका छन ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार सोमबार प्रधानमन्त्री ओलीले बालुवाटारमा गुप्तालाई बोलाएर सोधपुछ गरेका थिए र २४ घन्टाभित्र राजीनामा दिन निर्देशन दिएका थिए ।
सत्तारूढ कांग्रेसका वरिष्ठ नेता शेखर कोइराला, महामन्त्री गगन थापालगायतले गुप्ताको तत्काल बर्खास्तीको माग गरेका थिए भने एमाले नेता राजन भट्टराईले पनि गुप्तालाई हटाउन माग गरेका थिए ।
गुप्ता एमालेका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सांसदसमेत हुन ।
उनले आफू अडिओमा आएको आवाज परीक्षण गर्न तयार रहेको र उक्त रकम न त आफ्नो खातामा आएको न त मन्त्रालयको खातामा भुक्तानी भएको दाबी गर्दै आएका छन ।
Categorized in राष्ट्रिय