काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले प्राविधिक व्यवसायिक शिक्षा र तालिमलाई औपचारिक शिक्षामा रूपान्तरण गर्ने प्रक्रिया अघि बढाएको छ ।
काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशन र इटिएच जुरिकको सहकार्य तथा स्वीस विकास नियोगको प्राविधिक सहयोगमा सञ्चालन भइरहेको ‘शिक्षा प्रणाली कार्यान्वयन प्रयोगशाला’ कार्यक्रमअन्तर्गत नगरपालिकाले पहिलो चरणमा विद्युतीय सवारी मर्मतसम्भार सम्बन्धी तीन महिनाको तालिम सञ्चालन गर्ने निर्णय गरेको छ ।
नगरप्रमुख दीपक कुमार रिसालले नेपालमा विद्युतीय सवारीको प्रयोग तीव्र गतिमा बढिरहेको बताउँदै मर्मतसम्भारका लागि दक्ष जनशक्ति देशमै उत्पादन गर्नुपर्ने आवश्यकता देखिएको उल्लेख गरे ।
“बेरोजगार युवालाई सीप सिकाएर स्वरोजगार र उद्यमशीलताको बाटो खोल्न सकिने भएकाले प्रविधिक तथा व्यवसायिक शिक्षालाई औपचारिक रुपमा अघि बढाउने तयारी गरेका हौँ,” रिसालले भने। नगरपालिकाले १८ देखि ४० वर्ष उमेर समूहका स्थानीय बेरोजगार युवालाई लक्षित गरेर तालिम सञ्चालन गर्नेछ।
आइल्याब कार्यक्रम २०२५ मा मधेस बाहेक सबै प्रदेशमा कार्यरत छ, जसअन्तर्गत बागमती प्रदेशमा ललितपुर र काठमाडौं गरी दुई समूह रहेका छन ।
काठमाडौं विश्वविद्यालयका पूर्व डिन तथा प्राध्यापक डा. महेशनाथ पराजुलीका अनुसार गोकर्णेश्वर समूहले अनौपचारिक रूपमा हुँदै आएका प्राविधिक तालिमलाई औपचारिक शैक्षिक कार्यक्रम बनाउने लक्ष्यसँगै कार्ययोजना अघि बढाएको छ ।
यसका लागि बागमती प्रदेश प्राविधिक व्यवसायिक शिक्षा तथा तालिम परिषद् र संघीय तहको प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्सँग समन्वय गरी कार्यक्रम सञ्चालन गरिने बताइएको छ ।
नगरपालिकाले विद्युतीय सवारी मर्मतसम्भारबारे स्थानीयको रुचि र आवश्यकताको सर्वेक्षणसमेत गर्नेछ । सर्वेक्षणको आधारमा छोटो अवधिको तालिमलाई दीर्घकालीन—२ वर्षे औपचारिक पाठ्यक्रममा रूपान्तरण गर्ने तयारी भइरहेको परिषद् प्रमुख कार्यकारी निर्देशक शान्ति लामाले जानकारी दिइन्। “अनौपचारिक तालिमलाई औपचारिक शिक्षामा रूपान्तरण गर्ने यो प्रक्रिया नेपालमै पहिलो हो,” उनले भनिन ।
आइल्याब काठमाडौंका संयोजक रमेश दुलालका अनुसार बेरोजगारी घटाउन र सीप आधारित रोजगारी सिर्जना गर्न कार्यक्रम महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।
विद्युतीय सवारी मर्मतमा सीपयुक्त जनशक्ति तयार पार्न निजी क्षेत्र पनि सहकार्यमा जुटिएको छ ।
नेपाल उद्योग परिसंघका सीप निर्देशक प्रयाशा केसीले उद्योग र बजारको मागअनुसार जनशक्ति विकास गर्न गोकर्णेश्वर नगरपालिका, बागमती प्रदेश र उद्योग परिसंघबीच त्रिपक्षीय सम्झौता भइसकेको जानकारी दिइन्। उनका अनुसार दक्ष जनशक्ति उत्पादनदेखि रोजगारीसम्म जोड्ने कडीका रूपमा उद्योग परिसंघले सक्रिय भूमिका खेल्नेछ ।
Categorized in पालिका