६ भाद्र २०८३, शनिबार
Header

खुलामञ्च खुला भएको प्रमुख शाक्यको घोषणा


प्रकाशित: सोमवार, ३२ साउन २०७८, १९ः०० बजे
- अजय खड्गी

काठमाडौँ । काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले खुलामञ्च खुला भएको बताएका छन । 


महानगरपालिकाको ६८ औँ कार्यपालिका बैठकलाई सम्बोधन गर्दै प्रमुख शाक्यले खुला मञ्चलाई खुला नै राख्ने महानगरपालिकाको अडानले मूर्तरुप पाएको दावी गरेका छन । 


शाक्यले भने, ‘राष्ट्रिय महत्वको संरचना दरबार हाइस्कुल र वीर अस्पतालको पुनर्निर्माणको क्रममा त्यहाँ प्रयोग हुने निर्माण सामग्रीहरु र त्यहाँ काम गर्ने केही कामदारलाई राख्नका लागि उहाँहरुकै आग्रहमा काठमाडौँ महानगरपालिकाले सहमति दिएको थियो,’ प्रमुख शाक्यले भन्नुभयो, ‘वीर अस्पताल र दरबार हाईस्कुलको पुनर्निर्माण सम्पन्न भएसँगै खुलामञ्चलाई खुला गर्ने हाम्रो अडानले पुर्णता प्राप्त गरेको छ । पछिल्लो समय बसपार्क पनि त्यहाँबाट हटाएर खुलामञ्चलाई पूर्णरुपमा खुला गरेका छौँ ।’


अब खुलामञ्चलाई व्यवस्थापन गर्न महानगरपालिका लागेको शाक्यले सुनाउँदैे आम नागरिक, राजनीतिक दल र विभिन्न समूहका अभिव्यक्ति स्वतन्त्रताका लागि सार्वजनिक स्थानहरु उपलब्ध हुनुपर्छ भन्ने हेतूले खुलामञ्चलाई खुला नै छाड्ने महानगरपालिकाको नीतिलार्ई निरन्तरता दिएको स्मरण गराए । 


खुलामञ्च व्यवस्थापनसँगै माइघीघर, बानेश्वर, दरवारमार्ग, रत्नपार्क लगायतका स्थानमा सभा–सम्मेलन, धर्ना, जुलुस गर्न नपाउने समेत व्यवस्था गर्न चाहेको प्रमुख शाक्यले बताए । 


विभिन्न राजनीतिक दल र सर्वसाधारणले आफ्ना आवाज र माग सम्वोधनका लागि सडकमा सभा–सम्मेलन, धर्ना, जुलुस गर्दा ट्राफिक जाम भई आवतजावतनै अस्तव्यस्थ भई थप भिडभाड बढ्ने र अन्तराष्ट्रिय यात्रुहरुलाई समेत ओहोरदोहोरमा कठिनाई हुने भएकाले खुलामञ्च व्यवस्थित गर्न आवश्यक रहेको शाक्यको भनाई छ । 


प्रमुख शाक्यले रानीपोखरीदेखि खुलामञ्चसम्मलाई व्यवस्थापन गर्न हामीले तयार पारेको गुरुयोजनाबारे पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग  छलफल गरेको तथा राष्ट्रिय पुनर्निमाण प्राधिकरणसँग पनि पटक पटक चर्चा गरेको आफूहरुले खुलामञ्च खुला हुनुपर्दछ भन्ने अभियानमा लागेको बताए । 


पछिल्लो समय अर्थात धरहरा उद्घाटनका बेला प्राधिकरणले लैनचौरदेखि केशरमहल, नारायणहिटी दरबारदेखि जमल हुँदै रानीपोखरीसम्म, रानीपोखरीदेखि टुँडिखेल हुँदै दशरथ रंगशालासम्मको क्षेत्रलाई खुला क्षेत्रको रूपमा व्यवस्थित गर्ने ग्रेटर टुँडिखेल गुरुयोजना अघि सारिएको छ । 


त्यसैगरी शाक्यले नेपाल सरकार, प्रदेश सरकार, उपत्यका भित्रका पालिका र सवारी साधान व्यवसायीको समन्वय, सहकार्य र लागत सहभागितामा सवारी साधानको कार्य प्रकृति तथा सञ्चालन हुने दूरीका आधारमा लामो दूरी र सहरी यातायातका छुट्टछुट्टै सवारी साधान टर्मिनलको विकास गर्न महानगरपालिकाले पहल गर्ने पनि प्रतिवद्धता व्यक्त गरे । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex