काठमाडौँ । क्यानाडा पठाई दिने भन्दै ठगी गरी हिड्ने एक महिलालाई शुक्रवार काठमाडौंको पुतलीसडकबाट केन्द्रीय प्रहरी अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुर, बकैया गापा–९ की सुनिता तिवारी बाइवा रहेको ब्यूरोले जनाएको छ ।
वाइवाले क्यानडामा आकर्षक रोजगारीको प्रलोभनमा पारी ठग्ने गरेको अनुसन्धानबाट पत्ता लागेको छ ।
उनले नक्कली कागजातसमेत बनाई दिएर भारतसम्म पु¥याई पीडितबाट प्रतिव्यक्ति रु सात लाखदेखि १२ लाखसम्म रकम लिई मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा पक्राउ गरिएको ब्यूरोले जनाएको छ । बाइवालाई जिल्ला अदालत काठमाडौँबाट म्याद थप गरी अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।
शिक्षा मन्त्रालयको स्वीकृति समेत नलिई पुतलीसडकमा कार्यालय खोलेर ठगी गरेको अनुसन्धानबाट खुलेको छ ।
विदेशमा अध्ययन गर्न जान चाहने युवा विद्यार्थीलाई लक्षित गरी विभिन्न पत्रपत्रिकामा विज्ञापन प्रकासित गरी सम्पर्कमा आएकाहरुलाई नेपालबाट भारतको नयाँ दिल्लीलगायतका विभिन्न स्थानमा पु¥याई महीनौँसम्म राखेर शोषण गरी पीडितलाई अलपत्र पारी छाडिदिने गरेको अनुसन्धानबाट खुलेको ब्यूरोका प्रहरी नायब उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए ।
Categorized in बजार