काठमाडौँ । काठमाडौ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले वडा २१ तः बहाः मा रहेको कीर्तिपुण्य बज्रधातु महाविहार (क्वाः पाः द्यःछेँ) को पुननिर्माणका कार्यको शिलान्यास गरेका छन ।
सो अवसरमा प्रमुख शाक्यले भने,‘हामी भित्री सहरका महाविहार, विहार, बहाल, बही, ननी, चोकजस्ता सांस्कृतिक भौतिक संरचना र मौलिक बस्तीको मर्मत, सम्भार र जीर्णोद्धार गरेर पर्यटन प्रवर्धनका कार्यक्रमसँग जोड्दैछौँ ।’
भित्री सहरका प्राचीन सम्पदामध्ये यो विहार पनि एक हो । यो महाविहार भ्याटसहित करीब ९६ लाख रुपैयाँ लागतमा पुननिर्माण हुनेछ । भदौ २ गते निर्माण कम्पनी नमोवुद्ध बिल्डर्सलाई कार्यादेश दिइसकिएको छ । यसको निर्माण अवधि ०७९ भदौ २ गतेसम्म रहनेछ ।
डिजाइन इञ्जिनियर अमित बज्राचार्य अनुसार तीनतले महाविहार २४ फिट लम्बाइ र १४ फिट ८ इन्च चौडाइ जमिनमा निर्माण हुनेछ । यहाँ अक्षोभ्य बुद्धको मूर्ति छ । अहिले मूर्तिको प्राण कलशमा प्रतिस्थापन गरेर काम थालिएको हो ।
शिलान्यास समारोहमा वडा २१ का अध्यक्ष उदय चुडामणि बज्राचार्यले महानगरले गरेका हरेक कामलाई नराम्रो मात्र देख्ने दृष्टि दोषका कारण भएका कामको चर्चा हुन नसकेको उल्लेख गरे ।
विहार संघका सदस्य गुरजु डा. नविन बज्राचार्यका अनुसार नेपाल संवत ६०७ वि. सं. १५४४ को महाविहार सम्बन्धी अभिलेख पाइन्छ । त्यसबेला तःबहाः का जीनदेव बज्राचार्यले बालाजुमा रहेको वुद्धमूर्तिमा चढाएको गहनामा लेखिएको अक्षरका आधारमा यो त्यस अघिकै महाविहार रहेको मान्न सकिने बज्राचार्यको तर्क छ ।
नेपाल संवत ६९९ मा महाविहारको संरक्षण र व्यवस्थापनका लागि गुठी स्थापना भएको अभिलेख पाइन्छ । महाविहारको मुल ढोकामा राखिएको तोरणमा नेपाल संवत १००७ मिति उल्लेख छ । यो मितिमा जीर्णोद्धार भएको हुन सक्ने डा. बज्राचार्यको भनाई छ ।
महाविहार ०७२ सालको भूकम्पले जीर्ण बनेको थियो । यो लगं वहाः का ८ वटा शाखा (कचा वहाः) मध्ये एक हो ।
Categorized in सम्पदा/संस्कृति