२४ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

काष्ठमण्डपको गजुर कसरी धुरीमा स्थापित गरिन्छ ?


प्रकाशित: शुक्रवार, १५ साउन २०७८, १७ः०० बजे
- अजय खड्गी

काठमाडौँ । पुननिर्माणको अन्तिम चरणमा पुगेको काष्ठमण्डपको गजुर विहिवार एक विशेष पुजा गरी भित्र्याएको छ । 


काष्ठमण्डपको धुरीमा राखिने गजुर एक धार्मिक कार्यक्रम गरी काष्ठमण्डप सँगैको श्रीखण्डतरुमुल महाविहार (सिँख्वःमू बहाः) भित्र ३ दिनसम्म गुप्त तान्त्रिक पूजा गरी उक्त गजुरलाई गर्जुको पल्टनसहित नेपाली सेनाका जवानहरूले बोकेर काष्ठमण्डप भित्र ल्याएका थिए । 


गजुरलाई काष्ठमण्डप भित्र बिसाइसके पछि सिँख्वःमूबहाःया पण्डित प्रा. यज्ञमानपति वज्राचार्यको नेतृत्वमा सोही बहालका गुर्जुहरूले चर्या नृत्य सहित प्रतिस्थापन पूजा गर्नुभएको थियो ।


सालको काठबाट बनाइएको गजुरमा १३ चक्की छन । यसलाई तामाको पाताले लेपन गरेर धुरीमा स्थापना गरिनेछ । काष्ठमण्डपको मूल गजुर पनि यही हो ।


काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष एवं बागमती प्रदेशका सांसद राजेश शाक्यले साउन महिनाभित्रै गजुरलाई काष्ठमण्डपमाथि स्थापना गरिने जानकारी दिएका छन । 


गजुर ल्याउनु भनेको काम सकिने चरणमा पुगेको छ भन्ने संकेत भएको शाक्यले सो अवसरमा बताए ।  यसलाई धुरीमा स्थापना गरेपछि काष्ठमण्डप पुनर्निर्माणको कार्य पनि सम्पन्न हुनेछ ।


वि.सं. २०७२ सालको वैशाख १२ गते आएको शक्तिशाली भूकम्पमा काष्ठमण्डप पूर्ण रुपमा ध्वस्त भएको थियो । सातौं शताब्दीमा निर्माण गरिएको यो सम्पदा पुनर्निर्माणको लागि काठमाडौं महानगरपालिकाको आर्थिक लगानीमा पुनर्निर्माण समिति गठन गरी कार्य अघि बढाइएको थियो ।


पुनर्निर्माणको काम समितिले ०७५ को वैशाखबाट सुरु गरेको हो । अहिलेसम्ममा पुननिर्माणका लागि काठमाडौ महानगरले ११ करोड ५० लाख रुपैयाँ दिइसकेको छ ।


गजुरलाई लसकुस गर्ने कार्यमा पुनर्निर्माण समितिका अध्यक्ष एवं सांसद राजेश शाक्य, प्रतिनिधि सभाका सांसद बीना श्रेष्ठ, बागमती प्रदेशका सांसद डा. अजयक्रान्ति शाक्य, काठमाडौं महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, सम्पदा समितिका संयोजक एवं १८ वडाका अध्यक्ष न्हुछेकाजी महर्जनलगायत पुनर्निर्माण समितिका पदाधिकारीहरूको सहभागिता थियो ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex