काठमाडौं । प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको स्थानीय तहहरूको कार्यसम्पादन मूल्याङ्कन प्रतिवेदनअनुसार विराटनगर महानगर पहिलो भएको छ ।
मूल्यांकनमा काठमाडौं ६ महानगरपालिकामध्ये सबैभन्दा अन्तिम दिएको छ ।
महानगरले १०० पूर्णाङ्कमा ४४.९७ अंक मात्र प्राप्त गरेको छ, जुन अन्य पाँच महानगरको तुलनामा सबैभन्दा कम हो ।
आयोगले स्थानीय तहको खर्च व्यवस्थापन, राजस्व सङ्कलन, बजेट अनुशासन, वित्तीय पारदर्शिता र सेवा प्रवाहलगायत १७ सूचकका आधारमा हरेक वर्ष मूल्याङ्कन गर्दै आएको छ ।
सोही सूचकका आधारमा केन्द्र सरकारले प्रदान गर्ने समानीकरण अनुदानको परिमाण निर्धारण हुन्छ ।
प्रतिवेदनअनुसार विराटनगर महानगरपालिका ७८.११ अंकसहित पहिलो स्थानमा रहेको छ ।
त्यसपछि ललितपुर ७६.३३, भरतपुर ६८.०४, पोखरा ५८.७६ र वीरगञ्ज ५४.०० अंकसहित क्रमशः दोस्रोदेखि पाँचौं स्थानमा छन ।
कानुनअनुसार स्थानीय तहले असार १० गतेभित्र बजेट पेस गर्नुपर्ने र असार मसान्तभित्र पारित गरिसक्नुपर्ने व्यवस्था छ । काठमाडौं महानगरपालिकाले समयमै बजेट पेस नगरेकाले सो सूचकमा ० अंक पाएको छ ।
अन्य पाँच महानगरले भने पूर्ण ५ अंक प्राप्त गरेका छन । यद्यपि असार मसान्तभित्र बजेट पारित गर्ने सूचकमा भने सबै महानगरले ५–५ अंक पाएका छन ।
आगामी आर्थिक वर्षको बजेट प्रक्षेपण अर्थ मन्त्रालयमा बुझाउने तथा वार्षिक समीक्षा गर्ने कार्यमा पनि काठमाडौंले अंक प्राप्त गर्न सकेन ।
यस शीर्षकमा काठमाडौं र वीरगञ्ज दुवैले ० अंक पाएका छन्। विराटनगर र ललितपुरले भने दुवै कार्य सम्पन्न गरी पूर्ण १० अंक प्राप्त गरेका छन ।
राजस्व सङ्कलनतर्फ भने काठमाडौंसहित सबै महानगरले उत्कृष्ट प्रदर्शन गरेका छन ।
अधिकार क्षेत्रभित्रको राजस्व प्रभावकारी रूपमा सङ्कलन गरेबापत सबैले पूर्ण १३ अंक प्राप्त गरेका छन ।
घरजग्गा रजिष्ट्रेशन, मनोरञ्जन तथा विज्ञापन करको ४० प्रतिशत प्रदेशलाई बुझाउने वित्तीय अनुशासनमा पनि सबै महानगरले पूर्ण ५ अंक पाएका छन ।
तर बजेट खर्चको अवस्थासम्बन्धी सूचकमा भने सबै ६ महानगरले ० अंक मात्र पाएका छन । विनियोजित बजेट र वास्तविक खर्चबीचको अनुपात कमजोर देखिएकाले यस्तो परिणाम आएको आयोगले जनाएको छ ।
अघिल्लो वर्षको बेरुजु फस्र्यौटको अवस्थालाई हेर्दा काठमाडौं, पोखरा र वीरगञ्जले कुनै प्रगति गर्न नसकेकाले ० अंक पाएका छन ।
विराटनगर, ललितपुर र भरतपुरले भने उल्लेख्य सुधार देखाउँदै क्रमशः १२.८२७, ११.५११ र ८.९४७९ अंक प्राप्त गरेका छन ।
सामाजिक क्षेत्रका सूचकहरूमा पनि काठमाडौं पछाडि परेको छ । पूर्ण खोपको सूचकमा काठमाडौं, भरतपुर र पोखराले ० अंक पाएका छन भने वीरगञ्जले ३ अंक प्राप्त गरेको छ । स्वास्थ्य संस्थामा सुत्केरी हुने दरमा काठमाडौंले ३ अंक पाएको भए पनि ४ पटक गर्भ जाँच गराउने सूचकमा भने ०.५३५७ अंक मात्र प्राप्त गरेको छ । शिक्षातर्फ जिपिए नतिजामा ललितपुर ९२.३४० र काठमाडौं ९१.८७० अगाडि देखिएका छन ।
सूत्र प्रणालीको प्रयोग र अनलाइन पोर्टलमा विवरण प्रविष्टि गर्ने कार्यमा भने सबै महानगरले प्रभावकारी काम गरेका छन । यस सूचकमा सबैले पूर्ण ११ अंक प्राप्त गरेका छन ।
Categorized in पालिका