काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा ३ धारापाटीमा निर्माण सम्पन्न भएको सिद्धेश्वर महादेव मन्दिरको काठमार्डाैं महानगर प्रमुख विद्यासुन्दर शाक्यले उद्घाटन गरेका छन ।
मंगलबार महाशिवरात्रीको दिन उद्धघाटन गरिएको मन्दिर निर्माणमा धारापाटी सामाजिक सेवा समितिले संयोजन गरेको थियो ।
धारापाटी क्षेत्रमा साढे ३ रोपनी जग्गा संरक्षण गरेर पार्क निर्माण गरिदैछ । यही जग्गामा करिब २१ लाख ९४ हजार रुपैयाँ लागतमा मन्दिर निर्माण गरिएको हो ।
सो अवसरमा प्रमुख शाक्यले महानगरका सम्पदाहरुको पुननिर्माणमा धेरै प्रगति भएको बताएका थिए । उनले भने ‘स्थानीय तह गठन भएपछि पहिलो कार्यकाल भएकोले स्थानीय सरकारको स्वरुप बनाउन कानून र अन्य प्रबन्धमा काम गर्नुपर्ने थियो । यति हुँदाहुँदै पनि हामीले सुरुदेखि नै सेवा प्रवाहका लागि सुविधा सम्पन्न पूर्वाधार र सम्पदा पुननिर्माणमा प्राथमिकता दिने नीति लियौँ । विकासका परिणामहरु विस्तारै आउँछन् । हामीले गरेका कामहरु धमाधम सकिँदैछन् । कतिपय कामहरु सम्पन्न हुने चरणमा छन् । यो प्रगतिलाई मैले सकारात्मक मानेको छु ।’
खाली जग्गामा संरचना बनाएरभन्दा पार्क बनाएर संरक्षण गर्ने नीति लिएको बताउँदै समुदाय स्तरमा समान धारणा निर्माण गर्न आग्रह गरे ।
कार्यक्रममा वडा ३ का अध्यक्ष दीपक के. सी. ले शैक्षिक, धार्मिक र स्वास्थ्य क्षेत्र वडा ३ को विशेषता भएको यस वडालाई जोगाउने कामलाई महत्व दिएर हामीले काम गरिरहेका बताए । २ सय रोपनी जग्गा संरक्षण गरेर पार्क निर्माण गरिएको तथा ८ किलोमिटर सडक विस्तार गरेका वडा अध्यक्ष केसीले सुनाए ।
वडा अध्यक्ष केसीले भैरव, नारायण, शिव, दक्षिणकाली र गणेश मन्दिर निर्माण, पुननिर्माण र मर्मत सम्भार गरेको जानकारी दिए ।
Categorized in सम्पदा/संस्कृति