काठमाडौँ । काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले वडा २२ को नयाँ भवन उद्घाटन गरेका छन ।
बुधवार विहान संकटा टेवहालस्थित निर्मित नयाँ भवनमा लिप्ट जडान गरिएको छ । यो वडा कार्यलहरुमा पहिलो लिप्ट जडित भवन भएको महानगरपालिकाले जनाएको छ ।
भवन उद्घान कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख शाक्यले विकास निर्माणका काममा अवरोध गर्ने उदेश्यले अदालत र अख्तियारमा उजुरी दिने प्रबृतिको कारण सोचे जति गर्न नसिएको बताए ।

शाक्यले भने,‘काम गर्न वाधा गर्ने नियतले अदालत र अख्तियारमा उजुरी दिने केही प्रवृत्तिले हामीले हाम्रो पूर्ण क्षमतामा काम गर्नै पाएनौँ । हामीसँग योभन्दा धेरै परिणाम आउने गरी काम गर्ने क्षमता थियो, स्रोत थियो ।’
‘चुस्त, दुरुस्त र सेवाग्राहीमैत्री सेवा प्रवाहका लागि हामी निर्वाचित भएर आउने वित्तिकै महानगरका सबै कार्यालय भवन बनाउने निर्णय गरेका थियौँ । त्यो निर्णय कार्यान्वयनमा धेरै सफलता प्राप्त भएको छ । कतिपय वडाहरुमा जग्गा वा भवन प्राप्तिको विवादका कारण नवनिर्माण सम्भव भएको छैन । कतिपय वडाहरुलाई स्तरोन्नति गरेर सुधार गरेका छौँ ।’ प्रमुख शाक्यले भने ।
सो अवसरमा उपप्रमुख हरिप्रभा खड्गीश्रेष्ठले नेपालकै पहिलो लिफ्टसहितको सुविधा सम्पन्न वडा निर्माण गर्न पाएकोमा खुसी व्यक्त गरिन । स्थानीय सरकार गठन भएपछिको पहिलो कार्यकाल भएकोले यसका धेरै चुनौती थियो तर अहिले यसलाई प्रणालीमा लयमा ल्याएको बताईन ।

कार्यक्रममा बागमति प्रदेश सदस्य तथा पूर्वमन्त्री डा. अजयक्रान्ती शाक्य लगायत जनप्रतिनिधि, स्थानियहरुको उपस्थिती रहेको थियो ।
वडाध्यक्ष चिनीकाजी महर्जनले जनप्रतिनिधि र स्थानीयबासीका लागि यो गौरवको विषय भएकोले जनताका आवश्यकतालाई अझै चुस्त बनाउन प्रयासमा लाग्ने प्रतिवद्धता व्यक्त गरे ।
भवन निर्माण गर्न हिराकाजीबाट जग्गा प्राप्त भएकोले भवनको नाम हिराकाजी स्मृति भवन राखिएको छ । भवन निर्माणका लागि २०७७ असोज १९ गते शिलान्यास भएको थियो ।
भवन ३ करोड २० लाख १४ हजार २१४ रुपैयाँ ८७ पैसामा निर्माण भएको हो । एण्ड के. जी. रमिता कन्स्ट्रक्सन प्रा. लि. कम रकम कबोल गरेर निर्माणको जिम्मा पाएको थियो ।
६ हजार ३१६ स्क्वायर फिट क्षेत्रफल भएको ६ तले वडा भवनमा भवन ६ जना व्यक्ति अट्ने लिफ्ट सुविधा छ । पाँचौं तलासम्म भवनका हरेक तलामा ४ वटा कोठा छन भने माथिल्लो तलामा बैठक कक्ष छ ।
तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर
Categorized in स्थानिय