१ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

कामपा– २९ वडाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन


प्रकाशित: शनिवार, २६ माघ २०८१, १५ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौँ महानगरपालिकाको वडा नं. २९ को नवनिर्मित प्रशासकीय भवनको उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले भवनको उद्घाटन गरेका छन ।


शुक्रबार भवन उद्घाटनपछि बोल्दै उपप्रधानमन्त्री सिंहले, सुविधा सम्पन्न वडाको प्रशासकीय भवनमा जीवन्त क्रियाकलाप हुनु पर्ने अपेक्षा राख्दै सेवालाई सरल र सहज बनाउन मद्दत पुगेको धारणा राखे ।


सार्वजनिक निर्माण विभागका इञ्जिनियर प्रेमबहादुर श्रेष्ठकाअनुसार वेसमेन्टसहित भवनको क्षेत्रफल १२ हजार वर्गफिट रहेको छ । 


२० आना जमिनमा नेपाली परम्परागत शैलीमा निर्माण भएको भवनको पूर्व र पश्चिम दुवैतर्फबाट भवनमा प्रवेश गर्न सकिन्छ । करसहित करिब ५ करोड रुपैयाँ लागतमा निर्माण भएको भवनको वेसमेन्टमा चारपाङ्ग्रे गाडी ६ वटा र  दुईपाङ्ग्रे २५ वटा सवारी साधन अट्न सक्छन् । 


भवनको जमिन तला, पहिलो तला र दोस्रो तलालाई कार्यालयबाट प्रदान गरिने सेवाका लागि उपयोग गरिनेछ । दोस्रो तलामा १ सय जना क्षमताको सभा कक्ष छ । तेस्रो तलामा १ जनाका लागि तालिम सञ्चालन गर्न सकिने कक्ष बनाइएको छ । भवनमा ६ जना क्षमताको लिफ्ट जडान गरिएको छ । भवनको वरिपरि खुला भाग र बिश्राम गर्ने मिल्ने स्थान बनाइएको छ । 


भवन निर्माणका लागि २०७७ साल चैत २४ गते कार्यादेश दिइएको हो । गएको कार्तिक मसान्तमा कार्य सम्पन्न भएको हो ।


भवन निर्माणका लागि उल्लेखनीय योगदान गर्ने व्यक्तित्वहरु पनि सो अवसरमा सम्मानित भएका छन । 


सम्मानित हुनु हुनेमा सामाजिक विकास समाजका अध्यक्ष ओम उप्रेती, अनाम एकता समाजका अध्यक्ष नारायण राई, पूर्व वडाध्यक्ष गोपाल जोशी, सामाजिक विकास समाजका पूर्व अध्यक्ष शान्ताराम पोखरेल छन । 


त्यसैगरी, महानगरपालिकाका कार्यपालिकाका पूर्व सदस्य दिपक राई, सामाजिक अगुवाहरु रेवती दाहाल, केदार प्रधान, ज्ञानबहादुर श्रेष्ठ, प्रमोद बास्कोटा, वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, महानगर प्रहरी बलका वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डे, नगर प्रहरी उपरीक्षक मनोज लामिछाने र इञ्जिनियर प्रेमकुमार श्रेष्ठ पनि सम्मानित भएका छन । 


सो अवसरमा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने, प्रदेश सभा सदस्य दिपेन्द्र श्रेष्ठ ,महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल लगायतले आ–आफ्‌ना भनाई राखेका थिए ।


कार्यक्रममा वडा सदस्यहरु सन्तोषकुमार ढुङ्गेल, रेनु श्रेष्ठ, अनिल श्रेष्ठ र संगीता पुजारीले, जनअपेक्षाअनुरुपको सेवा प्रदान गर्न र नागरिकलाई सुशासनको प्रत्याभूत गराउन वडा प्रशासकीय भवनले सहजता प्रदान गर्ने धारणा राखे ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex