काठमाडौं । काठमाडौं महानगरपालिकाले मंगलवार एक सार्वजनिक सुचना निकाली सडकमा नमाग्न अपिल गरेको छ ।
महानगरपालिकाले सडकमा माग्न बस्नेलाई तीन दिनभित्र हट्न भनेको छ । कामपाले कानूनले निषेध गरेको भिक्षा माग्ने पेशा नअपनाउन र अपनाए कारवाही गर्ने चेतावनीसहित सूचना जारी गरेको हो ।
कामपा प्रमुख विद्यासुन्दर शाक्यले माग्ने पेशा गर्न नपाईने कानुनलाई कार्यन्वयन गरिने बताउँदै एक छाक खान नपाएर सडकमा बस्नुपर्ने बाध्यता भएकाकालाई संरक्षण गरिने बताएका छन ।
प्रमुख शाक्यले वास्तविक, असहाय, बेसहारा तथा सहयोगापेक्षीहरुलाई उद्धार गरी मानवसेवा आश्रममा लगेर संरक्षण गरिने छ र उनीहरुको परिवार पत्ता लागेकालाई पुनःमिलन गराइने बताए ।
मुलुकी अपराधसंहितामा सडक, गल्ली, उद्यान, सवारी बिसौनीस्थल, सरकारी कार्यालय, कार्यालयको परिसर र सार्वजनिक सवारी साधनमा भिक्षा माग्न वा माग्न लगाउन नहुने उल्लेख छ ।
भिक्षा माग्नेलाई अधिकतम दुई महिना कैद र दुई हजार रुपैयाँसम्म जरिवाना तथा माग्न लगाउनेलाई तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना हुने संहितामा रहेको छ ।
कामपाले यही मंसिर २९ गते मनाउन गईरहेको महानगर दिवशमा बेसहारा, अभिभावकविहीन, सहयोगापेक्षी सडक आश्रित मानवरहित काठमाडौँ महानगर बनाउने अभियानको घोषणा गर्न लागिएको छ ।
महानगर, मानवसेवा आश्रम, जिल्ला प्रशासन कार्यालय, काठमाडौँ, नेपाल प्रहरी र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पाँचपक्षीय सम्झौता गरेर संयुक्त रुपमा अभियान अघि बढाउँदै छन ।
Categorized in समाज