५ कार्तिक २०८३, बुधबार
Binod Yojesh Ram

कात्तिक नाचको अक्षय कोषमा रु. एक करोड पुराउन माग


प्रकाशित: आईतवार, २६ पुष २०७७, २०ः०० बजे
- महानगरखवर

ललितपुर । कार्तिक नाचको निरन्तरताको लागि खडा गरिएको अक्षय कोषको रकम १ करोड पु¥याउन सरोकारवालाहरुले ललितपुर महानगरपालिका समक्ष माग गरेका छन । 


कार्तिक नाच संरक्षण समितिले शनिबार पाटन दरबार क्षेत्रस्थित कार्तिक डबलीमा आयोजना गरेको नाचको समापन समारोहमा सम्बद्ध वक्ताहरुले सो माग गरेका हुन ।


सो समारोहमा महानगरपालिकाको तर्फबाट मेयर महर्जनले ५० लाख रुपैयाँ हस्तान्तरण गर्नुभयो । गत वर्षको नाच समापन समारोहमा मेयर महर्जनले आर्थिक वर्ष २०७७ तथा ०७८ मा १ करोड रुपैयाँ हस्तान्तरण गर्ने सार्वजनिक रुपमा प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।समितिले नाचको निरन्तरताको लागि १० करोड रुपैयाँको अक्षय कोष स्थापना गर्ने अभियान अघि सारेको पृष्ठभूमीमा मेयर महर्जनबाट सो प्रतिबद्धता आएको थियो ।


समितिका अध्यक्ष किरण चित्रकारले मेयर महर्जनको वचन स्मरण गर्दैे बाँकी ५० लाख रुपैयाँ पनि चाँडोभन्दा चाँडो उपलब्ध गराईदिन माग गर्नुभयो ।विश्वकै एउटा उत्कृष्ट अमूर्त संस्कृतिको रुपमा रहेको कार्तिक नाच रकम अभावले सञ्चालन गर्न कठिनाई रहेको बताउँदै अध्यक्ष चित्रकारले भन्नुभयो ‘कार्तिक नाच जर्गेना गर्ने पहिलो दायित्व महानगरपालिकाको हो । त्यसैले बाँकी ५० लाख रुपैयाँ पनि चाँडै हस्तान्तण गरियोस् ।’


समारोहमा समितिका उपाध्यक्ष प्रतापधर शर्माले अनेक उचित पारिश्रमिक नपाएपनि कलाकारको भावनात्मक आस्थाले गर्दा कार्तिक नाच जेनतेन सञ्चालन हुँदै आएका बताउँदै भन्नुभयो ‘ तिनिहरुलाई समयानुकूल पारिश्रमिक दिन अक्षयकोषमा थप ५० लाख उपलब्ध गराउनुको अर्को विकल्प छैन । महानगरपालिकाले बाँकी ५० लाख रुपैयाँ दिन आलटाल गर्ने छैनन् भन्ने विश्वास गर्दछु ।’


सो अवसरमा नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय महासचिव सुनील महर्जनले संस्कृतिप्रति राज्य र स्थानीय तहले गौरव गरेपनि त्यस अनुपातमा संरक्षणको लागि पर्याप्त स्रोतको व्यवस्था नगरिएको बताउनुभयो । अहिलेसम्म अमूर्त संंस्कृतिहरु जर्गेना हुनुको मुख्य कारण सम्बन्धित समुदायको त्यसप्रति अपनत्व, प्रतिबद्धता र इच्छाशक्ति रहेको उल्लेख गर्दै महासचिव महर्जनले भन्नुभयो ‘अमूर्त संस्कृति जर्गेना गर्न जीवन समर्पण गर्ने परम्परागत बाजागाजाका गुरु, कलाकार, गुठीयारहरुको आत्मसम्मान बढाउन विशेष भत्ता, सम्मान र उचित पारिश्रमिक दिने विषयमा महानगरपालिका गम्भीर हुनुपर्दछ ।’


महासचिव महर्जनले नाचको लागि पूर्ववत वचन अनुरुप अक्षयकोषको रकम १ करोड रुपैयाँ पु¥याउनुपर्ने, कार्तिक नाचको विषयमा स्थानीय पाठयक्रममा समावेश गर्नुपर्ने, अमूर्त संस्कृति सञ्चालन गर्ने जिम्मेवारी पाएको संघसंस्थाको क्षमता बढाउन पर्याप्त स्रोतको व्यवस्था गर्ने लगायत ठोस कार्यक्रम ल्याउन पनि मेयर महर्जन समक्ष माग गर्नुभयो ।


समितिका कार्यसमिति सदस्य एवं प्रचार संयोजक सञ्जयशर्मा राजोपाध्यायले अमूर्त संस्कृति जगेर्नाको सवालमा सरोकारवालाको अपेक्षा र मागमा महानगरपालिका खरो उत्रिनुपर्नेमा मेयर महर्जनको ध्यानाकर्षण गराउँदै दशैको अवसरमा दरबार क्षेत्रमा सञ्चालन हुने लायकू पायः जात्राको लागि पनि आवश्यक बजेट बन्दोबस्तो गरिदिन माग गर्नुभयो ।


सो अवसरमा महानगरपालिकाका मेयर महर्जनले १ करोड रुपैयाँ दिने प्रतिबद्धता व्यक्त गरेको तर, यस वर्ष ५० लाख हस्तान्तरण गरेको बताउँदै अमूर्त संस्कृति संरक्षणमा महानगरपालिका गम्भीर रहेको धारणा राख्नुभयो । सो रकम दिने विषय गत असारमा सम्पन्न नगरसभाबाट पारित गरिएको थियो । 


उहाँले संस्कृतिको संरक्षणको लागि महानगरपालिकाको मात्र मुख नताक्न समितिलाई आग्रह गर्दै नाचको लागि रकम जुटाउन विभिन्न बैंक तथा वितीय संघसंस्थाहरु समक्ष माग गर्न पनि सुझाव दिनुभयो । बैंक तथा वित्तीय संस्थाले हरेक वर्ष सामाजिक उत्तरदायित्व अन्तर्गत केही प्रतिशत रकम सामाजिक काममा खर्चिनुपर्ने नियम रहेको उल्लेख गर्दै मेयर महर्जनले त्यसको लाभ उठाउनुपर्नेमा पनि जोड दिनुभयो ।

 


सोही समारोहमा ललितपुर महानगरपालिका– १६ का वडाअध्यक्ष निर्मलरत्न शाक्यलाई कदरपत्र प्रदान गरिएको थियो।सो वडाले गत मंसिर १२ गते शुक्रबार अक्षयकोषको लागि वडाबाटै १० लाख रुपैयाँ हस्तान्तरण गरेको थियो।सोही वडाले गत वर्ष नरसिंहको मुकुट र यस वर्ष बराहको चाँदीको मुकुट फेर्नको लागि आवश्यक रकम व्यहोरेको थियो । 


सो अवसरमा ललितपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष मनोजबहादुर न्याछ्यों सहित कार्यसमितिका सम्पूर्ण सदस्यहरुलाई स्वागत तथा बधाई ज्ञापन गरिएको थियो । सो अवसरमा अध्यक्ष न्याछ्योंले अमूर्त संस्कृति जर्गेना गर्ने कार्यले संघले सदवै गम्भीर रुपमा लिँदै आवश्यक सहयोग गर्दै आएको बताउनुभयो । आगामी दिनमा पनि सहयोगको निरन्तरता रहने पनि अध्यक्ष न्याछ्योंको भनाई रहेको छ ।


 

asteriskhubs
Home Page Bottom Second


binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika