काठमाडौँ । काठमाडौं महानगरपालिकाले १५ दिनभित्र महानगर क्षेत्रभित्र रहेका अनावश्यक तारहरु हटाउन सेवाप्रदायक संस्थालाई आग्रह गरेको छ ।
महानगरले टेलिफोन, केबुल तथा इन्टरनेट सेवा प्रदायक कार्यालय तथा संघ संस्थाहरु नेपाल टेलिकम, एनसेल, नेपाल विद्युत प्राधिकरण, केवुल प्रसारक संघलगायतलाई पत्र पठाउँदै तार हटाउन समय दिएको हो ।
सडक किनारामा भएका धेरै पोलहरु विद्युत प्राधिकरणका हुन । केही सेवाप्रदायकले प्राधिकरणसँग अनुमति लिएर तथा शुल्क तिरेर पोलमा तार राखेका छन भने धेरैले अनुमति नलिएको महानगरले जनाएको छ ।
दूरसञ्चार प्राधिकरणका अनुसार पोलमा देखिएका तारमध्ये करिब ७० प्रतिशत तार अनावश्यक हुन । टाँङ्दै जाँदा उब्रिएको तार पोलमा गुजुल्टो पारेर राख्ने गरिएको छ ।
प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले बिग्रिएको अवस्था सुधार गर्न धेरै पटक हामी सरोकारवाला कार्यालयका अधिकारीसँग बैठक बसिए पनि नतिजा नआएपछि पत्राचार पनि गरेको बताए ।
तार हटाउने विषयमा सम्बद्धबाट काम नभएको देखिएपछि समय तोकिएको अधिकारीको भनाई छ ।
अधिकारीले तोकिएको समयमा पनि तार हटाउने काम भएन भने १६ दिन महानगरले कार्य समूह गठन गरेर अनावश्यक तार हटाउने काम थाल्ने जानकारी दिए ।
तार हटाउन नगर प्रहरी उपरीक्षकको नेतृत्वमा नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, नेपाल प्रहरी, एनसेल, इन्टरनेट सर्भिस प्रोभाइडर एशोसिएसन नेपालका प्रतिनिधि रहने टोली गठन गर्ने महानगरको योजना छ ।
तार हटाउने कामको अनुगमन महानगरकी उपप्रमुखको संयोजकत्वमा सरोकारवाला कार्यालय तथा संस्थाका प्रतिनिधि रहने समितिले गर्नेछ ।
Categorized in स्थानिय