काठमाडौं । उपत्यका नगरपालिका फोरमका अध्यक्ष तथा काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यसहितका जनप्रतिनिधिहरुको टोलीले गृहमन्त्री रामबहादुर थापासँग भेटवार्ता गरेका छन ।
विहिवार गृहमन्त्री थापासँगको भेटवार्तामा काठमाडौ उपत्यकाको नाकामा कडाई गरी आवत–जावत पूर्ण रुपमा वन्द गर्न माग गरेको फोरम अध्यक्ष तथा महानगर प्रमुख शाक्यले वताए ।
मन्त्रालयमा गृहमन्त्रीको अध्यक्षतामा मन्त्रालयका सचिव, तीन वटै जिल्लाका प्रमुख, तीन ओटै निकायका सुरक्षा प्रमुखसहित उपत्यकाका विभिन्न नाकाका स्थानीय तहका प्रमुखको संयुक्त बैठकमा प्रमुख शाक्यले भने, ‘उपत्यका नगरपालिका फोरमले दिएका सुझावलाई पूर्णरुपमा पालना गर्न गृहमन्त्रीज्युसँग आग्रह गरेका छौँ,’ ।
‘लाखौँको संख्यामा रहेका उपत्यकावासीले सरकारले गरेको निर्णयलाई पालना गरिरहेको अवस्थामा केही व्यक्तिको आवत–जावतले उपत्यका अशान्त बनिरहेको छ । त्यसैले आज गृहमन्त्रीज्युलाई उपत्यकाका नाकामा कडाई गर्ने भन्दा पनि प्रस्थान विन्दूबाटै आवत–जावतलाई रोक्ने कुरालाई कडाइका साथ पूर्णरुपमा पालना गर्र्ने वातावरण निर्माण गर्न आग्रह गरेका छौँ ।’ शाक्यले भने ।
प्रमुख शाक्यले अत्यावश्यक कामका लागि काठमाडौ आउनु पर्ने भएपनि स्थानीय पालिका र जिल्ला प्रशासन कार्यलयाई अनिवार्य रुपमा जानकारी गराउने व्यवस्था गर्न आग्रह समेत गरेको जानकारी दिए ।
मन्त्रालयले पास दिने अनि उपत्यका भित्र ल्याएर छाडिदिने त्यसपछि हाम्रा वडाध्यक्ष–सदस्यहरु चाँहि उनीहरुको पछि–पछि लाग्दै उनीहरुलाई खोज्दै हिड्नुपर्ने बाध्यताका कारण ठूलो समस्या भएको भन्दै प्रमुख शाक्यले चिन्ता जाहेर गरे ।
बैठकमा प्रमुख शाक्यले भने, ‘लकडाउनको उल्लङ्घन गर्दै लुकिछिपी उपत्यका भित्र आउने र उपत्यकावासीलाई नै अशान्त बनाउने जो–कोहीलाई कानुनी दायरामा ल्याएर कारवाही गर्न सुझाव दिएका छौँ । हामीले लुकिछिपी आउने मात्रै होइन ल्याउनेलाई समेत कारवाहीको दायरामा ल्याउनुपर्छ भनेका छौँ ।’
बैठकमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उपत्यकामा लकडाउन खुकुलो बनाउँदा कोरोनाको संक्रमण जोखिम बढ्न सक्ने भन्दै घना बस्ती भएको कारण काठमाडौं उपत्यकालाई सुरक्षित राख्नु पर्नेमा जोड दिएका थिए ।
सो बैठकमा बैठकमा जनप्रतिनिधिले उपत्यका संघीय राजधानी समेत भएकाले स्थानीय तहले क्वारेण्टायन निर्माण गर्दा मापदण्डलगायतका समस्या हुन सक्ने भन्दै क्वारेन्टाइन निर्माण गर्न संघीय सरकारलाई नै आग्रह गरेका थिए ।
बैठकमा ललितपुर महानगरपालिका, भक्तपुर नगरपालिका, चन्द्रागिरी नगरपालिका, ताराकेश्वर नगरपालिका, टोखा नगरपालिका, शंखरापुर नगरपालिका, दक्षिणकाली नगरपालिका र सुर्यविनायक नगरपालिकाका प्रमुख सहभागी रहेको थियो ।
यस अघि पनि फोरमले कोभिड – १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक तथा रक्षा मन्त्री ईश्वर पोखरेललाई भेटी उपत्यकामा आवत– जावतमा कडा गर्न मागसहित सुझावहरु दिएका थिए ।
फोरम उपत्यकाका दुई महानगर र १६ नगरपालिकाका मेयर–उपमेयरहरुको साझा संस्था हो ।
Categorized in राष्ट्रिय