२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

काठमाडौं – २८ वडाबाट उत्कृष्ट करदाताहरु सम्मानित


प्रकाशित: शुक्रवार, ९ जेठ २०८२, १३ः५० बजे
- रचना शाही खड्गी

काठमाडौं । काठमाडौं महानगरपालिका– २८ वडाले व्यक्तिगत र संस्थागत गरी २ जना उत्कृष्ट करदातालाई सम्मान गरेको छ ।


शुक्रवार बागजारस्थित न्हूँजा पार्टी प्यालेसमा आयोजित ‘नव बर्ष– २०८२ को शुभकामना आदान प्रदान, करदाता सम्मान, बार्षिक समिक्षा तथा सार्वजनिक सुनवाई कार्यक्रममा सो सम्मान गरिएको हो ।

 


वडा अध्यक्ष भाइराम खड्गी(प्रकाश)ले आर्थिक बर्ष– २०८०/०८ मा व्यक्तिगत तर्फ सबैभन्दा बढि कर तिर्ने (घर जग्गा कर) शोभा शाहीलाई उत्कृष्ट करदाताको रुपमा सम्मान गरेका थिए ।
शाहीले २५ लाख ७६ हजार ८९३ रुपियाँ वडालाई घर जग्गा कर बुझाएको थियो । 


त्यसैगरी, कमलादीस्थित युनिग्लोब हाइयर सेकेण्डरी स्कुलले बाहाल करबापत रु ३७ लाख ५ हजार ६९३ रुपियाँ ३३ पैसा संस्थागत रुपमा कर बुझाएवापत उत्कृष्ट करदाताकको रुपमा वडा अध्यक्ष खड्गीले सम्मान गरेका थिए ।


उनीहरुलाई कदर प्रमाणपत्र र खादा ओढाई अध्यक्ष खड्गीले विषेश सम्मान गरेका थिए । 

 


वडा सचिव विष्णु बहादुर पौडेलले संचालन गरेको यस कार्यक्रममा वडाको बार्षिक आय र खर्च विवरणबारे पनि संक्षिप्त विवरण प्रस्तुत गरेका थिए । 


सचिव पौडेलका अनुसार ३६ करोड संकलन लक्ष्य रहेकोमा हाल सम्म २३ करोड संकलन गरेको र ३० करोड सम्म संकलन गरिने अनुमान रहेको छ ।


वडाले भौतिक पूर्वाधारमा ११ करोड बजेट पाएकोमा ४ करोड खर्च भुक्तान भएको र ७ करोडको काम भईरहेको सचिव पौडेलले जानकारी दिए ।


त्यसैगरी, सीपमुलक कार्यक्रमका लागि १ करोड ४२ लाख रहेकोमा ५० लाखको भुक्तानी भएको, समाजिक सुरक्षा खर्चमा ३ करोड २५ लाख बजेट रहेकोमा २ करोड वितरण भईसकेको, पोषण भत्तामा ३२ लाख ४० हजार रहेकोमा ३२ लाख ४ हजार वितरण भईसकेको उनले जानकारी दिए । 


सार्वजनिक सुनवाई कार्यक्रम समेत रहेकाले स्थानीय वक्ताहरुले विभिन्न विषयमा सम्बोधन गरेका छन ।


उनीहरुले वडाको भौतिक पूर्वाधार, सडक, विद्यालय, खानेपानी, सुरक्षा, ट्राफिक व्यवस्थापन लगायत विषयमा आ–आफना विचारसँगै सुझावहरु पनि प्रस्तुत गरेका थिए । 

 


कार्यक्रममा पूर्व वडा सदस्य रुपक तण्डुकारले भौतिक पूर्वाधारको विषयमा चर्चा गर्दै वडाले थप अन्य क्षेत्रमा पनि काम गर्नु पर्ने सुझाव दिएका थिए ।


त्यसैगरी, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र पुरानो बस पार्कका पूर्वअध्यक्ष विपेन्द्र खड्गीले स्वास्थ्य प्रवद्र्धन केन्द्रलाई व्यवस्थित र प्रभावकारी कसरी बनाउन सकिन्छ भन्ने बारे सुझाव दिएका थिए । 

 


कार्यक्रममा स्थानीय मधुसुदन तण्डुकारले पनि वडाका विविध समस्याहरुको बारे सुनाएका थिए । उनले सडक साँघुरो हुने गरी निर्माणको कार्यहरुप्रति वडाले चासो देखाउनु पर्ने सुझाव दिए । 
स्थानीय निमित्ता प्रधान शाक्यले पनि वडाले गरेका राम्रा कार्यहरुको प्रशंसा गर्दै धन्यवाद दिएका थिए ।

 


सहिद शुक्रराज विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिवस ढुंगेलले वडामा गरिने विकासका कार्यहरु दिगो र स्थायी हुनु पर्ने विचार प्रस्तुत गरेका थिए । साथै उनले वडाका स्थानीयहरुलाई विशेष प्राथमिकता दिनु पर्नेमा जोड दिए ।


सर्मिला तण्डुकार महर्जनले इच्छुमाति सडकमा हुने अव्यवस्थित पार्किङले अफ्‌ठेरो परेको बारे गुनासो राखिन । 

 


कार्यक्रमका प्रमुख अथिति सिंहदरवार बृतका प्रहरी निरीक्षक सुनिल कार्कीले वडासँगको समन्वय र शान्ति सुरक्षाको बारे चर्चा गरेका थिए । 


उक्त कार्यक्रममा सहभागीहरुलाई वडा सदस्य अरुण तण्डुकारले स्वागत सँगै नयाँ बर्षको शुभकामना दिएका थिए । 

 


वडा अध्यक्ष भाइराम खड्गीको सभापतित्वमा भएको यस कार्यक्रममा स्थानीय विभिन्न संघ, संस्थाका प्रतिनिधि, वडा सदस्यहरु विरेन्द्र महर्जन, ललिता ढली कार्की लगायतको उपस्थिती रहेको थियो ।

 


तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर

asteriskhubs
Home Page Bottom Second


maharjan complex