१४ बैशाख २०८१, शुक्रबार
Header

काठमाडौं महानगर ३० भन्दा बढी पार्क निर्माणको तयारीमा  


प्रकाशित: विहिवार, २५ असार २०७७, ०९ः०० बजे 
- महानगरखबर

काठमाडौँ । काठमाडौं महानगरपालिकाले आ.ब. २०७७÷७८ मा महानगर क्षेत्रभित्र हरियाली पार्क  तथा खुला क्षेत्र विकास गर्ने तयारीमा लागेको छ । 


महानगर क्षेत्र भित्रका अतिक्रमित सार्वजनिक जग्गाको पहिचान गर्दै त्यसको संरक्षण गरी खुला क्षेत्र विकास गर्ने र हरियाली प्रवद्र्धन गर्ने कार्यलाई प्रमुख प्राथमिकताका साथ अघि बढाएको प्रमुख विद्यासुन्दर शाक्यले बताए । 


‘हरियाली प्रर्वद्धन गर्ने, सहरको सौदर्य बढाउने, पार्क निर्माण गर्ने महानगरपालिकाको नीति नै हो,’ शाक्यले भन्नुभयो, ‘हामी खुला ठाउँ र सार्वजनिक जग्गा संरक्षण गर्ने, ऐतिहासिक एवं वातावरणीय दृष्टिले महत्वपूर्ण स्थानको संरक्षण र सम्वद्र्धन गर्ने लगायतका कार्यलाई प्राथमिकतामा राखेर अघि बढेका छौँ ।’


महानगरले खुला क्षेत्रका रुपमा विकास गर्न २० लाखदेखि ६ करोडसम्मका तीस भन्दा बढी पार्क निर्माणको योजना अघि सारेको छ । ती पार्क निर्माणका लागि मात्रै महानगरपालिकाले २७ करोड भन्दा बढी बजेट विनियोजन गरेको छ । 


प्रमुख शाक्यले महानरवासीलाई टहलिन र खुला ठाउँमा आनन्द लिन हामीले त्यस्ता स्थानको संरक्षण र सदुपयोग गर्ने योजना अघि बढाएका वताउँदै हरियाली बढाउनुका साथै  भूमिगत पानी भण्डारणका लागि रिचार्ज काठमाडौँ अभियानलाई पनि हामीले प्राथमिकतामा राखेको योजना सुनाए । 


काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ को बजेटमा समावेश गरेका योजनामा महानगर जेष्ठ नागरिक पार्क, स्ट्रिट फुड पार्क, बाल उद्यान, जेष्ठ नागरिक आश्रम, सहिद पार्क, चेसपार्क, महानगर बाजे–बज्यै पार्क, महिला मैत्री पार्कलगायत रहेका छन । 


योजना अनुसार महानगरपालिकाले वडा–१५ मा सहिद पार्क निर्माणका लागि १ करोड, वडा–५ मा नरबुद्ध पार्कका लागि १ करोड ५० लाख, कुलेश्वर आवास क्षेत्र भित्र रहेको सार्वजनिक जग्गामा पार्क निर्माण गर्न ५० लाख, वडा–१४ को ज्ञानतिर्थमा पार्क निर्माणका लागि ४० लाख, वडा–११ को कुमारी मन्दिर नजिकै  र धोवि खोला दोभानको सार्जजनिक जग्गामा पार्क निर्माण गर्न २५ लाख विनियोजन गरेको छ । 


त्यसैगरी महानगरपालिकाले वडा–८ को गुहेश्वरीपारी पार्क निर्माण गर्न २० लाख, वडा–७ को कालोपुल र भत्केको पुलको बिचमा आइल्याण्डपार्क निर्माण गर्न ४० लाख, वडा–९ को कुमारी मन्दिर परिसरमा पार्क निर्माण गर्न २५ लाख, वडा–४ मा धुम्बाराही पार्क निर्माणका लागि १ करोड, वडा–४ कै शिवस्थली पार्क निर्माणका लागि लाग्ने ६ करोड मध्ये यस वर्षका लागि १ करोड विनियोजन गरेको छ ।  


वडा–१४ को खड्का गाउँमा पार्क निर्माणका लागि ३० लाख, बालाजु पार्क विकास तथा स्वमिङपुल पुःननिर्माणका लागि बहुवर्षीय योजनामा १ करोड, वडा–१७ को धोविचौर परिसरमा निर्माण र गाहिती पुर्ननिर्माणमा ३० लाख, रानीपोखरी क्षेत्र विस्तार कार्यका लागि १ करोड, वडा–३२ को बालकुमारीमा अमरावती पार्क निर्माणका लागि बहुवर्षीय योजनामा १ करोड, वडा–३२ कै तीनकुनेमा आधुनिक बुद्धपार्क निर्माणको लागि डीपीआर प्रतिवेदन तयार पार्न १ करोड विनियोजन गरेको छ । उक्त स्थानमा अहिले अल्पकालीन रुपमा हरियालीसहितको आइल्याण्ड निर्माण गरिएको छ । 


महानगरपालिकाले आफ्नो ड्रिम प्राजेक्टका रुपमा अघि बढाएको मेगा हलमा पनि ६० प्रतिशत स्थानमा खुला स्थान र हरियाली प्रवद्र्धन गर्ने योजना अघि सारेको छ । 


मेगा हल निर्माण गर्ने भनिएको भृकुटी मण्डपमा अहिले करीब २८ प्रतिशत मात्रै खुला स्थान रहेको काठमाडौँ महानगरपालिकाको सहरी योजना आयोगले जानकारी दिएको छ । 


महानगरपालिकाले दिएको जानकारी अनुसार विष्णुमती करिडोरमा पार्क निर्माणका लागि बहुवर्षीय योजना अन्तर्रगत २ करोड, वडा–७ मा मैजुबहाल पार्क निर्माणका लागि ६२ लाख, वडा–३१ मा जेष्ठ नागरिक आश्रम तथा पार्क निर्माणका लागि वहुवर्षीय योजनामा २ करोड, वडा ३२ को कोटेश्वर महादेवस्थानमा सार्वजनिक भवन र पार्क निर्माणका लागि ५० लाख, बागमती मनोहरा दोभानदेखि बालकुमारी पुलहुँदै मनोहरा, हनुमन्ते दोभानसम्म नदी किनारको जग्गा संरक्षण र पार्क निर्माणका लागि २ करोड, कोटेश्वर महादेवस्थानको सिडी स्तरोन्नती र पार्क निर्माणका लागि ३० लाख विनियोजन गरेको पनि महानगरपालिकाले जानकारी दिएको छ । 


त्यस्तै वडा–३२ को जनमैत्री हरित उद्यान निर्माणका लागि वहुवर्षीय योजना अन्तरर्गत १ करोड, वडा–२५ को महानगर जेष्ठ नागरिक पार्क निर्माणका लागि १ करोड, वडा–११ को थापाथलीमा सडक किनारा पार्क निर्माणका लागि ४० लाख, वडा–११ को चेसपार्क स्तरोन्ततिका लागि ३६ लाख, वडा–४ को महानगर बाजे–बज्यै पार्कको वहुवर्षीय योजनाका लागि ३ करोड, वडा नम्बर –३१ को प्रयागमार्ग पार्क निमार्णका लागि बहुवर्षीय योजनामा १ करोड, वडा–१० मा स्ट्रिटफुड पार्क निर्माणका लागि २५ लाख, वडा–१० को सानो गौचरण पार्क सुधारका लागि १ करोड, वडा नम्बर–३० को मैतिदेवी पार्क निर्माणका लागि ५० लाख, वडा–३१ को जागृति बाल उद्यान निर्माणका लागि ५० लाख, वडा–३२ को पुरानो टाउनप्लानिङ मनोहरा नदी किनारमा पार्क निर्माणका लागि ५० लाख, खुला योग तथा व्यायमशाला निर्माणका लागि ५० लाख, वडा–४ को विशालनगरमा पार्क निर्माण कार्यका लागि ५० लाख विनियोजन गरेको छ । 


महादेव खोला, बल्खु, करखुशी, सामाखुशी, विष्णुमति, वागमती नदी किनारको सार्वजनिक जग्गा संरक्षण, हरियाली प्रर्वद्धन र नदी नियन्त्रण कार्यका लागि पनि महाननगरपालिकाले करीब ७ करोड बजेट विनियोजन गरेको छ । 
यी स्थानहरुमा पार्क निर्माणका लागि विनियोजन गरेको बजेट नगरसभाबाट पारित भएको छ । केही नगरसभा सदस्यहरुले यी योजनाहरुमा केही रकम थप गर्नुपर्नेलगायतका माग राखेका थिए । मेयर शाक्यले पनि सिलिङमा तलमाथि नपर्ने गरी सकेसम्म नगरसभा सदस्यहरुका माग सम्वोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।   

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD