काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक बर्ष २०७६÷७७ को लागि आर्थिक बजेट प्रस्तुत गरेको छ ।
मंगलवार राष्ट्रिय गृहमा आयोजित ५ औं नगरसभाको बैठकमा महानगरले १५ अर्ब ५० करोड ७० लाख १२ हजार रुपैयाँको आय व्यय प्रस्ताव गरेको हो ।
महानगरले प्रस्तुत गरेको यो बजेट चालु आ.व. भन्दा १९ प्रतिशतले बढी हो । चालु आवमा रु १३ अर्ब २ करोड १२ लाख ३७ बजेट बिनियोजित गरिएको थियो ।
प्रस्तावित बजेटमा पूर्वाधारमा विकासमा सबैभन्दा बढि बजेट छुट्टाएको छ । कुल बजेटको ३९ प्रतिशत अर्थात ५ अर्ब ९८ करोड ३० लाख २४ हजार रुपैयाँ यस क्षेत्रका लागि बिनियोजित भएको छ ।
यसमा उर्जा, भवन तथा सहरी विकास, वैकल्पिक उर्जा र सञ्चार, सडक तथा अन्य पूर्वाधारका क्षेत्रहरु समेटिएका छन ।
त्यसैगरी समाजिक विकासमा कुल बजेटको २४ प्रतिशत अर्थात ३ अर्ब ७२ करोड १५ लाख ४९ हजार बजेट बिनियोजन भएको छ । यस अन्तर्गत खानेपानी तथा सरसफाई, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण, शिक्षा, स्वास्थ्य र संस्कृति प्रबर्धनका कार्यक्रमहरु समेटिएको छ ।
संस्थागत विकासमा ३ अर्ब ५९ करोड १८ लाख ५० हजार रुपैयाँ अर्थात् कुल बजेटको २३ प्रतिशत बजेट राखिएको छ भने जग्गा बिकासका लागि १ अर्ब १२ करोड ८२ लाख ७० हजार छुट््याइएको छ । यस्तै उद्योग तथा वाणिज्य, कृषि, पर्यटन, वित्तिय र सहकारी क्षेत्र रहेको आर्थिक बिकासका लागि ६९ करोड ७ लाख ७४ हजार रुपैयाँ विनियोजन गरिएको छ ।
वातावरण तथा विपद व्यवस्थापनतर्फ वाताबरण संरक्षण, जलवायु परिवर्तन, फोहोरमैला व्यवस्थापन, ल्याण्डफिल्ड साईटको ब्यबस्थापन, वन तथा भू ९संरक्षण, बारुणयन्त्र सञ्चालन र विपद व्यवस्थापनका लागि ३९ करोड १५ लाख ४५ हजार रुपैयाँ प्रस्ताव गरिएको छ ।
प्रस्तावित बजेटमध्ये आन्तरिक श्रोतबाट ७ अर्ब ५६ करोड ६ लाख ३७ हजार रुपैयाँ अर्थात अनुमानित आम्दानीको ५२.५८ प्रतिशत रुपैयाँ अनुमान गरिएको छ ।
त्यस्तै बाह्य श्रोतबाट ४ अर्ब १८ करोड ९० लाख ८ हजार रुपैयाँ, महानगरपालिकाको नाममा बैंकमा रहेको मौज्दातबाट २ अर्ब ६२ करोड ९० लाख ९७ हजार रुपैयाँ र आफूमातहतका आयोजनाहरुबाट १ अर्ब १२ करोड ८२ लाख ७० हजार रुपैयाँ गरी १५ अर्ब ५० करोड ७० लाख १२ हजार आय हुने अनुमान गरिएको छ ।
महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले आर्थिक बिधेयक र उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गीले बिनियोजन बिधेयक प्रस्तुत गरेका थिए ।
Categorized in स्थानिय