काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले पुनः आफ्नो जिम्मेवारी सम्हाल्न पाउने भएका छन ।
उच्च अदालत पाटनले बुधबार उनको निलम्बनको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो ।
न्यायाधीश ऋषिराज भण्डारी र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले पाण्डेलाई यथास्थितिमा राखेर काम गर्न दिन अन्तरिम आदेश जारी गरेको हो।
आदेशमा भनिएको छ, ‘निलम्बनको पत्र कार्यान्वयन नगरी निवेदकलाई निजको पदमा रही कामकाज गर्न दिनू/दिलाउनू।’
नगर प्रहरीको परिचालन, निर्देशन र रेखदेखको अधिकार प्रमुख प्रशासकीय अधिकृतसँग रहेको स्वीकृत गरे पनि, पाण्डेलाई निलम्बन गर्नुपर्ने अवस्था नरहेको अदालतको ठहर छ ।
‘सुविधा र सन्तुलनको दृष्टिले जाँचबुझ समिति अघि बढाउने अवस्था भए पनि तत्काल निलम्बन गर्नु आवश्यक छैन,’ आदेशमा उल्लेख छ।
राजुनाथ पाण्डेलाई जेठ २० गते प्रशासकीय अधिकृत सरोज गुरागाईंले ६ महिनाका लागि निलम्बन गरेका थिए । चैत २१ गते कार्यालयमा हुलहुज्जत गरेको भन्दै स्पष्टीकरण मागिएको र त्यसको आधारमा कारबाही गरिएको थियो।
निलम्बनविरुद्ध पाण्डेले जेठ २५ गते उच्च अदालत पाटनमा रिट दायर गरेका थिए । प्रारम्भिक सुनुवाइपछि अदालतले दुबै पक्षलाई अन्तरिम आदेशबारे छलफल गर्न जेठ २७ गते बोलाएको थियो।
पाण्डेले आफ्नो रिटमा महानगरका प्रमुख, उप–प्रमुख, प्रशासकीय अधिकृत गुरागाईं, नगर प्रहरी बलका निमित्त प्रमुख विष्णु जोशी र नगर कार्यपालिका कार्यालयलाई विपक्षी बनाएका छन्।
Categorized in पालिका