काठमाडौं । काठमाडौं महानगरपालिकाले राजधानीका विभिन्न स्थानमा ७० वटा आधुनिक सार्वजनिक शौचालय बनाउने भएको छ ।
महानगरले यस अघि सार्वजनिक स्थलमा शौचालयको अवधारण ल्याएपनि लगानीकर्ताहरु अघि नबढेपछि आफ्नै लगानीमा बनाउने भएको हो ।
पहिलो चरणमा स्थानमा बानेश्वर, त्रिपुरेश्वर, चाबहिल बबरमहल, गोंगबु र बसन्तपुरमा रोटोमोल्डिङ प्रविधिबाट निर्माण भएका शौचालय राख्न लागिएको सार्वजनिक निजी साझेदारी कार्यक्रमका इकाई प्रमुख महेश काफ्ले बताएका छन् ।
५ लाखमा निर्माण गर्न सकिने यस्तो शौचालय छिमेकी राष्ट्र चीनमा निकै लोकप्रिय रहेको छ । यस्तो शौचालय १ सय १० केजी तौलको हुन्छ । यसमा राखिएको पानीको ट्याङ्की १ सय ६० लिटरको हुन्छ भने फोहरको ट्याङ्की क्षमता २ सय ९० लिटरको हुन्छ ।
साथै यसमा सौर्य उर्जाबाट चल्ने पंखा र बत्ति हुन्छ । सुविधायुक्त हुने यस शौचालय थोरै स्पेसमा पनि राख्न सकिन्छ । यस्तो शौचालय सहजै एक ठाउँबाट अर्काे ठाउँ स्थानान्तरण गर्न पनि सकिन्छ ।
चिनियाँ मोडलका अत्याधुनिक शौचालय चीनबाटै खरिद गर्ने काठमाडौं महानगरको योजना छ ।
Categorized in समाज