काठमाडौँ । काठमाडौं महानगरपालिकाले १ लाख व्यक्तिहरुको स्वास्थय बीमा कार्ड बाड्ने तयारी गरेको छ ।
आगमी जेठ महिनामा महानगरपालिकाभित्रका १ लाख बिमितको कार्ड बाड्ने जनाएको हो । कार्ड जारी भएसँगै स्वास्थ्य उपचार सेवा सञ्चालन हुनेछ । बिमा गराउने कार्य नियमित चल्नेछ ।
बीमा बोर्डमा सुचिकृत भएका वडा नं. ८ को रामघाट प्राथमिक स्वास्थ्य केन्द्र, वडा नं. २६ लैनचौर, वडा नं. १४ कलंकी, वडा नं. १९ कंकेश्वरी र वडा नं. ३० ज्ञानेश्वरका स्वास्थ्य प्रवर्धन केन्द्रबाट स्वास्थ्य सेवा लिन सकिने छ ।
यी केन्द्रमा उपचार नहुने जटिल प्रकारका रोगको उपचारका लागि सूचीकृत अस्पतालहरुमा पठाइनेछ ।
यसरी प्रदान गरिने उपचार सेवा तालिम प्राप्त स्वास्थ्यकर्मीहरुले अनलाइन प्रणालीमा सञ्चालन गर्नेछन । यसका महानगरले लागि हरेक केन्द्रका ५ जना स्वास्थ्यकर्मीलाई ४ दिने सफ्टवेयर सञ्चालन तालिम दिँदैछ ।
अहिलेसम्म स्वास्थ्य बीमा गर्नेहरुमा सबैभन्दा धेरै वडा १५ रहेको महानगरले जनाएको छ ।
आकस्मिक सेवा, ओपिडी, प्रयोगशाला, रेडियोलोजी, फार्मेसीका सबै सेवा अनलाइन हुनेछन । यसबाट विरामीको वास्तविक अवस्था उही नै समयमा सम्बन्धितले थाहा पाउन सक्नेछन ।
स्वास्थ्य विभागका निमित्त प्रमुख सजिना महर्जनका अनुसार बिमा बोर्डमा सूचीकृत गराएर पहिलो सम्पर्क विन्दु बढाउँदै लैजाने योजना छ ।
यस कार्यक्रममा बिमा गरेको प्रति ५ जना परिवारलाई एउटा एकाइ मानेर एक बर्षमा १ लाख बराबरको निःशुल्क उपचार सेवा प्राप्त हुनेछ ।
सो बराबरको रकम बिमा बोर्डले महानगरपालिकाअन्तर्गत रहेका प्रवर्धन केन्द्रलाई शोध भर्ना गर्नेछ ।
सेवा सञ्चालनका लागि स्वास्थ्य बिमा ऐन २०७४, स्वास्थ्य बिमा नियमावली २०७५ र स्थानीय तह स्वास्थ्य बिमा संयोजन समिति गठन तथा सञ्चालन कार्यविधि, २०७८ ले मापदण्ड तोकेको छ ।
Categorized in स्वास्थ्य