४ भाद्र २०८३, बिहिबार
Header

काठमाडौं महानगरले ल्याएको घर बहाल व्यवस्था निर्देशिकामा के छ ?


प्रकाशित: बुधवार, ३ फागुन २०७९, २१ः०० बजे
- महानगरखवर

काठमाडौं । घर बहाल करसम्बन्धी काठमाडौं महानगरपालिकाले ‘घर वहाल व्यवसथा निर्देशिका २०७९’ ल्याएको छ ।


महानगरले ल्याएको घरबहाल कर निर्देशिका अनुसार बहालमा दिने घरधनीले नै कानुन बमोजिम लाग्ने बहालकर महानगरपालिकालाई बुझाउने दायित्व घरधनीको हुनेछ ।


‘घरधनीले नबुझाएमा बहालमा लिने व्यक्तिले बुझाउन सक्नेछन । यसको निस्सा घरधनीलाई दिएर आफूले तिरेको बुझाएको रकम बहाल रकममा कट्टा गर्न सकिनेछ ।’ निर्देशिकामा उल्लेख छ । 


निर्देशिका अनुसार भौगोलिक स्थान, भवनको प्रकृति वा प्रयोजनको आधारमा बहाल करको न्यूनतम अंक तोकिने भएको भएको छ । 


‘महानगरपालिकाले आफ्नो भौगोलिक क्षेत्रभित्र स्थान विशेष वा भवनको प्रकृति वा बहाल प्रयोजन वा अन्य कुनै विषयलाई आधार बनाई घरबहाल करको न्यूनतम दर वा अंक तोक्न सक्ने छ’ निर्देशिकाको बुँदा नम्बर ३१ मा भनिएको छ ।


त्यसैगरी, काठमाडौं महानगरपालिकाले घरबहाल करमा छुट वा मिनाह गर्न सक्ने व्यवस्थमा समेत निर्देशिकामा ल्याएको छ ।


सम्झौता भएर बहालमा लिने व्यक्तिको प्राकृतिक विपद् वा कुनै महामारीका कारण दैनिक जनजीवनमा नकारात्मक प्रभाव परेमा अथवा नियमित आयआर्जन बन्द भएमा सो विवरण वडा कार्यालयमा पेश गरेर कर छुटावा मिनाहा निर्णयका लागि महानगरमा सिफारिस गर्न सक्ने व्यवस्था निर्देशिकामा रहेको छ ।


यस्तै घर बहालमा लिने व्यक्ति विद्यार्थी, शहीद परिवार, घाइते, अपाङ्गता भएका व्यक्ति, विपन्न वा असहाय भएमा पनि कर छुट वा मिनाहा हुनसक्ने महानगरले व्यवस्था गरेको छ ।


‘महानगरले बहालमा लिएको घरजग्गा समाजसेवा वा लोककल्याणकारी कार्यमा प्रयोग भएमा, मुनाफाको उद्देश्य नराखी कुनै पेशा व्यवसाय सञ्चालन गरेको अवस्थामा घर बहालमा लिनेरदिने पक्षहरूका बीच प्रमाण खुलाई कारण र औचित्यका आधारमा सम्झौता गरी बहाल रकममा छुट वा मिनाहा गर्न सक्नेछन’ निर्देशिकामा भनिएको छ ।


घरबहाल सम्झौतामा हुनुपर्ने अनिवार्य विषयहरु निर्देशिकामा निर्धारण गरिएको छ । 


निर्देशिकामा भनिएको छ,‘ महानगरपालिका क्षेत्रभित्र कसैले आफ्नो हक, भोग वा स्वामित्वमा रहेको घर, घरको कुनै तला, एकाइ वा कोठा तथा घरजग्गा निश्चित रकम लिने गरी तोकिएको समयका लागि कुनै व्यक्तिलाई उपयोग गर्न दिएमा घर बहालमा दिएको मानिने छ । 


भवन वा भवनको कुनै भाग वा घरजग्गा वा जग्गा बहालमा दिँदा बहालमा लिने व्यक्तिसँग बहालमा दिने व्यक्तिले अनुसूची—१ मा उल्लिखित ढाँचामा तल उल्लेखित विषयहरु उल्लेख गरी लिखित सम्झौता गर्नुपर्ने व्यवस्था महानगरले गरेको छ ।


घरबहाल लिने र घरधनीविच सम्झौताका लागि विभिन्न शर्तहरु उल्लेख गरेर सम्झौता गर्न सकिने निर्देशिकामा उल्लेख छ । 


(क¬) घर जग्गा बहालमा लिने र दिने पक्षहरूको पूरा नाम र ठेगाना, नागरिकता नम्बर, राष्ट्रिय परिचयपत्र नम्बर, मोबाइल नम्बर र विदेशी भए राहदानी वा परिचय खुल्ने प्रमाण–पत्र, इमेल ठेगाना, करदाता सङ्केत नम्बरसमेत


(ख) घर रहेको स्थान, जग्गाको कित्ता नम्बर, बहालमा लिने भवनको कुल क्षेत्रफल, तला वा कोठाको विवरण


(ग) बहालमा लिने प्रयोजन


(घ) बहाल सुरु हुने मिति


(ङ) बहाल कायम रहने अवधि र अवधि थप सम्बन्धी व्यवस्था


(च) मासिक तथा वार्षिक बहाल रकम तथा मासिक वा वार्षिक बहाल रकममा वृद्धि हुने भएमा सो समेत


(छ) बहाल रकम बुझाउने समय तथा प्रक्रिया


(ज) बहालमा लगाउने सम्पत्तिमा प्रयोग भएका बिजुली, खानेपानी, टेलिफोन, फोहरमैला व्यवस्थापन आदिको महसुल बुझाउने दायित्व


(झ) बहाल कर भुक्तानी गर्नेसम्बन्धी व्यवस्था


(ञ) बहालमा लिएको भवनको बीमा गर्नुपर्ने भए सो सम्बन्धी कुरा


(ट) बहालमा लिएको घर छाड्ने तथा बहालमा बसेको व्यक्तिलाई हटाउने सम्बन्धी कुरा


(ठ) बहालमा लिएको घर अन्य व्यक्तिलाई बहालमा दिन पाउने वा नपाउने कुरा


(ड) बहालमा लिएको भवन मर्मत तथा सम्भार सम्बन्धी व्यवस्था


(ढ) सम्झौता हेरफेर गर्न सकिने नसकिने भन्ने व्यवस्था


(ण) संरचना निर्माण, आंशिक निर्माण वा हेरफेर गर्न पाउने वा नपाउने भन्ने विषय


(त) सम्झौता विपरीत घर वा घरजग्गाको प्रयोग गरेमा क्षतिपूर्तिसम्बन्धी व्यवस्था


(थ) सम्झौता भंग गर्न सकिने पूर्वशर्तहरू (द) बहाल छोड्ने वा हटाउने सम्बन्धी व्यवस्था


(ध) अन्य आवश्यक कुराहरू ।


निर्देशिकामा अनुसार महानगर भित्र बहालमा दिएका घरहरुले दुई वर्षमा १० प्रतिशतले बढ्ने उल्लेख गरिएको छ ।


महानगरले तयार पारेको सम्झौता पत्रको ढाँचाको बुँदा नम्बर ७ मा भनिएको छ, ‘घरबहाल रकम प्रत्येक २/२ वर्षमा १० प्रतिशतका दरले वृद्धि हुने छ ।’


घरबहालसम्बन्धी घरधनी र बहालमा बस्ने बीच विवाद भएमा सम्झौताको आधारमा महानगरको न्यायिक समितिले समाधान गर्नेछ ।


घरभाडामा दिंदा र घरखाली भएको सूचना भने सात दिनभित्र महानगरपालिकामा दिनुपर्ने छ । 


घरखाली भएको जानकारी नगराएको अवस्थामा भने भाडामा लगाउने पक्षले सो अवधिभरको घरबहाल कर महानगरपालिकालाई तिर्नुपर्ने निर्देशिकामा उल्लेख छ । 


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex