काठमाडौं । सय बर्ष अघि सफाई अड्डाबाट सुरु भएको काठमाडौं महानगरपाकिलाले शनिवार एक विशेष कार्यक्रम गरी बसन्तपुरमा भव्य रुपमा २४ औं महानगर दिवश मनाएको छ ।
वि.सं. २०५२ साल मंसिर २९ गते मात्रै महानगरपालिका घोषणा गरेपछि महानगरले हरेक बर्षको मंसिर २९ गतेलाई महानगर दिवशको रुपमा सम्झिने गर्दछ ।
काठमाडौं महानगरपालिकाले निर्वाचित जनप्रतिनिधिहरू आइसकेपछि पहिलो पटक महानगर दिवस खुला रुपमा मनाएको हो ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलको प्रमुख आतिथ्यमा सम्पन्न २४ औं महानगर दिवश बाजा गुरु, पत्रकार लगायतलाई विशेष सम्मान गरिएको थियो ।
महानगर भित्र रहेका परम्परागत तथा अमूर्त सम्पदा मानिएको परम्परागत संस्कृतिका बाजागाजाका १ सय २१ जना बाजा गुरुहरुलाई सम्मान पत्र सहित जनही २५ हजारका दरले सम्मान गरेको थियो । त्यसैगरी कार्यक्रममा उत्कृष्ट करदाता सम्मान र कर्मचारी दीर्घ सेवा पदक पनि प्रदान गरिएको थियो ।
यसै गरि महानगरको पहिलो मेयर जनकमान श्रेष्ठलाई पनि अभिनन्दन गरिएको कार्यक्रममा जनही नगद ५० हजार सहित सुशासन पत्रकारिता गर्दैआएका १० जना पत्रकारहरुलाई पुरस्कृत गरिएको थियो ।
महानगरले सुशासन पत्रकारिता पुरस्कार विधामा पुरस्कृत हुने पत्रकारहरुमा कान्तिपुरका दीपेन्द्र विष्ट, नागरिक दैनिकका खिलक बुढाथोकी, अनलाइन खबरका रवीन्द्र घिमिरे, बाह्रखरी अनलाइनका सुरञ्जन घिमिरे, सम्यक साप्ताहिकका सुगतरत्न सिन्धुकार, अन्नपूर्ण पोस्टका छेटु शेर्पा, उज्यालो एफएमका सिल्भिया राजोपाध्याय, एभिन्युज टेलिभिजनका रामशुभक महतो र संस्थागत रूपमा नेवाः एफएमलाई पुरस्कृत गरेको हो । सम्मानित पत्रकारलाई उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले पुरस्कार प्रदान गरेका थिए ।
कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, संस्कृति–पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारी, ३ नंबर प्रदेशका मुख्य मन्त्री डोरमणि पौडे्ल, ३ नंबर प्रदेशकै पूर्वमन्त्री केशव स्थापित, सांसद राजेश शाक्य, बसन्त मानन्धर लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरलाई व्यवस्थित, धुवाँ, धुलोमुक्त बनाउन सबैको दायित्व भएको बताए । उनले सम्पदा संरक्षणसँगै व्यवस्थित शहरीकरणका लागि योजनाबद्ध कार्यक्रम अघि बढाईने बताए ।
प्रमुख शाक्यले अन्य महानगरसँग समन्वय गरी आधुनिक सुविधायुक्त विद्युतीय सवारी साधन सञ्चालन समेत गरिने जानकारी दिए ।
त्यसैगरी, महानगरका उपप्रमुख हरिप्रभा खड्कीले प्राचीन सभ्यताको नगरी काठमाडौँ शहरलाई व्यवस्थित र समृद्ध बनाउन सरोकारवाला निकायसँग समन्वयका साथ अघि बढ्ने महानगरको योजना रहेको बताए ।
उप्रमुख खड्गीले महानगरको योजनाका साथमा स्थानीयवासी, सरोकारवाला निकाय, विभिन्न संघ, संस्था सबैको सहयोगका अपेक्षा गरेका छन ।
त्यसैगरी आज र भोली महानगर दिवशको अवसरमा सांस्कृतिक महोत्सव हुँदैछ । बसन्तपुरस्थित दमकल अगाडि सांस्कृतिक कार्यक्रम हुनेछ ।
महोत्सवका अवसरमा बसन्तपुरमा ज्यापु महागुथि नेपाः काठमाडौं समितिका तर्फबाट सांस्कृतिक कार्यक्रम, बसन्तपुर डबली, हनुमानढोका, टेंगल, किलागल, असन, लगन, ठहिटी, ओण्डेमा स्थानीय खानाको फुडस्टल तथा प्रदर्शन हुनेछ ।


Categorized in समाज