काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सम्झौता अनुसार काम नभएको भन्दै नेपाल टेलिकम र कृषि विकास बैङ्कले राखेका ५१ वटा विज्ञपन बोर्ड हटाई दिएको छ ।
माइतीघरदेखि तीनकुनेसम्मका सडक, आइल्याण्ड र बिजुलीको पोलमा नेपाल टेलिकम र कृषि विकास बैङ्कले राखेका विज्ञापन वोर्डहरु हटाएको हो ।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीका अनुसार ट्राफिक आइल्याण्ड मर्मत, सम्भार तथा व्यवस्थापन र हरियाली प्रबर्धनका लागि सामाजिक उत्तरदायित्वअन्तर्गत बिभिन्न पक्षसँग गरेका सहमति कार्यान्वयनमा नआएपछि काठमाडौं महानगरले ती विज्ञापन बोर्ड हटाइ दिएको हो ।
सम्झौता अनुसार व्यवस्थापन र मर्मत सम्हारमा ध्यान नदिने तर बिज्ञापन राख्नमा मात्रै ध्यान दिएपछि महानगरपालिका आफैँले ती स्थानको सौन्दर्य निर्माण र संरक्षण गर्ने तयारी गरेक प्रमुख प्रशासकीय ज्ञवालीले जानकारी दिए ।
माइतीघर मण्डलाको सौन्दर्यीकरण गर्ने जिम्मेवारी कृषि विकास बैंङ्कले लिएको थियो भने माइतीघर मण्डलादेखि तीनकुनेसम्मको सडक खण्डका डिभाइडरको व्यवस्थापन भने नेपाल टेलिकमलाई दिएको थियो ।
बैङ्कले महानगरले उपलब्ध गराएको डिजाईन अनुसार बगैंचा निर्माण गर्ने, बिरुवा रोप्ने, मौसमअनुसारका फूलका बोट र विरुवाहरु लगाउने, मर्मत सम्भार गर्ने, हेरचाह, रेखदेख गर्ने दायित्व पूरा गर्ने उल्लेख थियो ।
५ बर्षका लागि गरिएको सम्झौताअनुसार मण्डला क्षेत्रको सौन्दर्य निर्माण र संरक्षण गर्दा हुने खर्च बैंक आफैंले व्यहोर्ने र उक्त क्षेत्रमा बैंकले बिद्युतीय माध्यमबाट आफ्नो सस्थाको पहिचान झल्कने किसिमको सामाग्री राख्न सक्ने उल्लेख गरिएको थियो ।
माइतीघर मण्डलादेखि तीनकुनेसम्मको सडक खण्डमा सम्झौताको पालना गरी नेपाल टेलिकमले बिद्युतीय माध्यमबाट आफ्नो सस्थाको पहिचान झल्कने किसिमको सामाग्री राख्न सक्ने सम्झौता भएको थियो तर दुबै संस्थालाई पटक–पटक आग्रह गर्दा पनि सम्झौता अनुसार काम गर्न आनाकानी गरेपछि बाध्य भएर साइनबोर्ड हटाएको महानगरपालिकाले जानकारी दिएको छ ।
Categorized in स्थानिय