काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता २०८२ लागू भइसकेपछि नयाँ कार्यक्रम सुरु गरेको विषयमा काठमाडौं महानगरपालिकासँग स्पष्टीकरण मागेको छ ।
आयोगले ७० वर्ष र सोभन्दा माथिका नागरिकलाई घर–घरमा पुगेर आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न सुरु गरिएको भन्ने विषयमा ध्यानाकर्षण भएको जनाउँदै महानगरपालिकालाई सोमबार पत्र लेखेको हो ।
आयोगका अनुसार यस सम्बन्धमा कार्यबाहक नगरप्रमुखले दिएको अभिव्यक्तिको श्रव्यदृश्य सामग्री आयोगमा प्राप्त भएपछि स्पष्टीकरण सोधिएको हो ।
निर्वाचन आचारसंहिता २०८२ को दफा ५ को खण्ड (क) को उपखण्ड (ग) मा वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भए बाहेक नयाँ नीति, योजना वा कार्यक्रम घोषणा, स्वीकृति वा सञ्चालन गर्न नपाइने व्यवस्था छ ।
यद्यपि सरुवा रोगको महामारी वा काबु बाहिरको अवस्था सिर्जना भएमा आयोगको स्वीकृति लिएर कार्यक्रम सञ्चालन गर्न सकिने उल्लेख छ ।
यसै सन्दर्भमा आयोगले कार्यबाहक नगरप्रमुखले सुरु गरेको भनिएको स्वास्थ्य सेवा कार्यक्रम वार्षिक बजेट तथा कार्यक्रममा समावेश कार्यक्रम हो वा होइन भन्ने स्पष्ट जवाफ मागेको छ ।
यदि उक्त कार्यक्रम वार्षिक बजेट तथा कार्यक्रममा समावेश भएको भए त्यसको प्रमाणित कागजात पत्र प्राप्त भएको दुई दिनभित्र आयोगमा पेश गर्न आयोगले अनुरोध गरेको छ ।
आयोगले आचारसंहिता कार्यान्वयनलाई कडाइका साथ निगरानी गरिरहेको सन्देश समेत यस पत्रमार्फत दिएको छ ।
Categorized in स्थानिय