३ आषाढ २०८२, मंगलबार
Header

काठमाडौं महानगरभित्रको वायु प्रदुषण डयासबोर्ड यसरी हेर्न सकिने


प्रकाशित: शुक्रवार, २३ बैशाख २०८२, ११ः४० बजे
- महानगरखबर

काठमाडौँ । काठमाडौँ महानगरपालिका क्षेत्रभित्रको वायु प्रदुषण को अवस्था हेर्न महानगरपालिकामा ‘काठमाडौँ महानगर वायु गुणस्तर निगरानी ड्यासबोर्ड’ राखिएको छ । 


महानगरले विहिवार विश्व वातावरण दिवसको अवसर पारेर आज ड्यास बोर्ड सार्वजनिक गरेको हो । ड्यास बोर्डबाट महानगरपालिका क्षेत्रका विभिन्न १८ ठाउँमा जडान गरिएका उपकरणले देखाएको पि.एम. २.५ र वायु गुणस्तर सूचकांकको विवरणलाई वास्तविक समयमा हेर्न सकिने महानगरपालिको जनाएको छ ।


काठमाडौँ महानगरपालिकाको वेभ साइटमा गएर नागरिक क्षेत्रभित्र भएका आइकनमध्ये ‘वायु गुणस्तर निगरानी’ मा क्लिक गरेपछि ड्यासबोर्डका पुगिन्छ । 


यसको गृहपृष्ठमा स्थानको नाम, वायु गुणस्तर सूचकांक र नक्सा राखिएको छ । वायु गुणस्तरको अवस्थालाई विभिन्न ६ वटा रङ्गले अवस्था संकेत गरिएको छ । जसमा हरियो रङ्ग राम्रो अवस्थाको संकेत हो । पहेँलो रङ्ग मध्यम, सुन्तला रङ्ग बालबालिका, ज्येष्ठ नागरिक, फोक्सोमा समस्या भएका मुटु रोग भएका जस्ता वर्गका व्यक्तिका लागि संवेदनशील अवस्था हो । 


डयासबोर्ड हेर्न यहाँ क्लिक गरौं 


रातो रङ्गले अस्वस्थ्य अवस्थाको संकेत गर्छ । यो सबैका लागि अस्वस्थ्य अवस्था हो । खासगरी संवेदनशील वर्गका व्यक्तिहरु यसबाट जोगिनुपर्छ । 


वैजनी रङ्गले सबै व्यक्तिको स्वास्थ्यमा गम्भीर हुन सक्ने संकेत गरिएको छ । यस्तै गाढा खैरो रङ्ग जोखिमपूर्ण अवस्था हो । यसमा सबै मानिसको स्वास्थ्यमा गम्भीर असर हुन सक्छ । खासगरी पहिले नै समस्या भएकाहरुका लागि बढी असर हुन सक्छ । 


वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईका अनुसार वातावरणीय अनुकुलता र प्रतिकुलता हेरेर त्यसअनुसारको जीवनशैली र आचरण बनाउनु पर्छ । यसका लागि प्रणालीले वास्तविक समयको सूचना दिन्छ ।


स्वास्थ्य विभागका प्रमुख दीपककुमार के. सी.ले ड्यास बोर्डबाट प्राप्त हुने तथ्याङ्कले सहरी जनस्वास्थ्य समस्या समाधानका लागि नीति, बजेट तथा कार्यक्रम तर्जुमा गर्न आधार दिने बताए । 


हेल्दी सिटि नेटवर्क परियोजनाका प्रमुख इञ्जिनियर सञ्जिब पाण्डेका अनुसार ड्यास बोर्डमा ७ खण्डहरु छन । यस अघि सहरका बिभिन्न १८ ठाउँमा जडान गरिएका उपकरणबाट वायु गुणस्तर हेर्न व्यवस्था वोर्डको मुख्य विशेषता हो । 


ड्यासबोर्डमा प्रत्येक घण्टाको पि.एम २.५ सूचकांकका विवरण हेर्न सकिन्छ । वितेका ७ दिनसम्मको तथ्याङ्क बोर्डमा हेर्न सकिन्छ । 


महानगरले छत्रपाटी चिकित्सालय, लैनचौर, कलंकी चोक, बालाजु बाइसधारा उद्यान, परोपकार स्त्री तथा प्रसुति रोग अस्पताल, थापाथली, महानगर प्रहरी बलको क्षेत्रीय कार्यालय नयाँ बसपार्कमा वायु प्रदुषण मापन यन्त्र जडान गरिएका छन । 


यस्तै चक्रपथको ठुलो भर्‍याङ्, बौद्ध, रत्नराज्य माध्यमिक बिद्यालय, मध्य बानेश्वर, टेकु ट्रान्सफर स्टेशन, वडा नंं २७ कार्यालय, पशुपति मित्र माध्यमिक विद्यालय, चावहिल, जडिबुटी उत्पादन तथा प्रसोधन कम्पनीको कार्यालय, जडीवुटी, वडा नं. ५ कार्यालय, नरःदे, वडा नं. २३ कार्यालय ओमवहाल, वडा नंं १ को सहरी स्वास्थ्य प्रवर्धन केन्द्र, नक्साल र वडा नं. ३१ कार्यालय परिसरमा यन्त्र जडान भएका छन । 


स्वस्थ्य सहर परियोजना गैर संक्रामक रोग र चोटपटक रोकथाम गरेर जीवन बचाउन प्रतिबद्ध ७४ वटा सहरहरूको विश्वव्यापी सञ्जाल हो । बिश्व स्वस्थ्य संगठन र विश्वव्यापी स्वास्थ्य संगठनको महत्वपूर्ण रणनीतिसँगको साझेदारी र ब्लुमवर्ग फिलान्थ्रोपिजको सहयोग परियोजना सञ्चालन भएको छ ।

 
पिएम २.५ भनेको वायुमण्डलमा पाइने साना कणहरू हुन। यी कणहरु सजिलै फोक्सोमा पुग्न सक्छन । रक्तप्रवाहमा मिसिन सक्छन । यसैकारण श्वासप्रश्वास, हृदय रोगसहित विभिन्न दीर्घ रोग उत्पन्न गराउँछ । विश्व स्वास्थ्य संगठनले पिएम २.५ को वार्षिक औसत ५ माइक्रोग्राम प्रति घनमिटर हुनुपर्ने भनेको छ । 


 

asteriskhubs
Home Page Bottom Second


NBL Suubha Gyan bachat
maharjan complex