काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानभित्रका ४६ हजार ९८५ जना किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको (एच.पि.भी.) खोप दिने लक्ष्य रहेको जनाएको छ ।
महानगरले सामुदायिक विद्यालय, संस्थागत विद्यालयमा अध्ययरत कक्षा ६ देखि १० सम्मका छात्राहरू र विद्यालय नजाने १० देखि १४ वर्षसम्मका किशोरीहरूलाई यो खोप दिइनेछ ।
सामुदायिक र संस्थागत गरेर ४९९ वटा विद्यालयका खोप केन्द्र सञ्चालन भएको छ । यसमा ७९ वटा सामुदायिक र ४२० वटा संस्थागत विद्यालय छन् ।
महानगरपालिकाका वडा नं. १, २, ५, ८, ११, १२, १७, १८, १९, २०, २१, २२, २३, २४, २५, २७, २८ र ३० मा आजदेखि खोप सुरु भएको छ । वडा नं. ३, ४, ६, ७, ९, १०, १३, १४, १५, १६, २६, २९, ३१ र ३२ मा माघ २५ गतेदेखि खोप कार्यक्रम सञ्चालन हुनेछ ।
पाठेघरको मुखको क्यान्सरबाट बच्ने ३ चरणका उपायमध्ये १० वर्षदेखि १४ वर्षसम्म उमेरका किशोरीहरूले एच.पि.भी. खोप लगाउनु पहिलो हो । दोस्रो उपायमा ३० वर्षभन्दा माथिको उमेरका हरेक महिलाले पाठेघरको मुखको परीक्षण (स्क्रिनिङ्ग) गराउनु पर्छ । तेस्रोमा पाठेघरको मुखको क्यान्सर रोग पहिचान भएका महिलाले उपचार गराउनु पर्छ ।
यो क्यान्सर ह्यूमन प्यापिलोमा भाइरसको संक्रमणबाट हुन्छ । यसलाई एच.पि.भी. भाइरस भनिन्छ । एचपिभी भाइरसबाट संक्रमित व्यक्तिसँग यौन सम्पर्क हुँदा यो भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्छ । यसबाट पटक पटक संक्रमण भएर २० वर्षसम्म संक्रमण रह्यो भने पाठेघरको मुखको क्यान्सर हुन सक्छ ।
मंगलवार प्रधानमन्त्री के. पि. शर्मा (ओली) ले काठमाडौँ महानगरपालिका वडा नं. ३ को स्वास्थ्य प्रवर्धन केन्द्रका स्वास्थ्यकर्मीलाई भ्याक्सिन क्यारिअर हस्तान्तरण गर्दै कार्यक्रम शुभारम्भ गरे ।
शुभारम्भपछि महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले खोप केन्द्रको अवलोकन गरेका थिए ।
5 Ferbury 2025, Wednesday
Categorized in स्वास्थ्य