काठमाडौं । काठमाडौं महानगरपाकिलाले सोमबारबाट ६ स्थानमा निःशुल्क वाईफाई सेवा सुरु गरेको छ ।
महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले आईतबार निःशुल्क वाईफाई सेवाको उद्वघाटन गरेका थिए । ईन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्ड लिंकसँग मिलेर महानगरले ६ स्थानमा फ्रि वाईफाई सेवा दिएको हो ।
निःशुल्क वाईफाई सेवा पशुपतिनाथ मन्दिर परिसरसहित ६ स्थानमा सुरु भएको छ । बौद्ध, शंखपार्क, बालाजु बाइसधारा उद्यान, स्वयम्भु, बसन्तपुर हनुमानढोका दरबार क्षेत्रमा फ्री वाईफाईको उपभोग गर्न पाइनेछ ।
भीडभाड हुने क्षेत्र पशुपतिनाथ मन्दिर आसपासमा २०० देखि ७०० प्रयोगकर्ताले एकैपटक निःशुल् वाईफाईको सेवा लिन सक्नेछन । त्यसैगरी बौद्धमा ४ वटा एक्सेस प्वाइन्टबाट २५० देखि ५००, शंखपार्कमा २ वटा एक्सेस प्वाइन्टबाट ५० देखि २०० प्रयोगकर्ताले एकैपटक वाईफाई चलाउन सक्नेछन ।
बालाजुमा ७ एक्सेस प्वाइन्टबाट २०० देखि ७००, स्वयम्भूमा ५ वटा एक्सेस प्वाइन्टबाट २०० देखि ३०० र बसन्तपुर हनुमानढोका दरबार क्षेत्रमा ९ वटा एक्सेस प्वाइन्टबाट ३०० देखि ५०० प्रयोगकर्ताले फ्रि वाईफाईको उपभोग गर्न सक्नेछन ।
निःशुल्क वाईफाई सेवा लिनको लागि सेवा क्षेत्रमा पुगेपछि मोवाईलमा आउने स्मार्ट मोवाईलमा नोटिफिकेशन आउँछ । सो नोटिफिकेशनमा क्लिक गरेपछि पेज खुल्छ र यसमा नाम र मोवाईल नम्बर राख्नु पर्दछ ।
त्यसपछि सिस्टमले दिएको कोड नम्बार हालेपछि ३० मिनेटसम्म वाईफाई चलाउन सकिने वल्र्ड लिंकका कार्यकारी निर्देशक विजय जलानले बताएका छन् । समयको पावन्दी सबैको लागि सेवा पुगोस भन्ने उदेश्यले गरिएको निर्देशक जलानको भनाई छ ।
महानगरपालिकाले सार्वजनिक उत्तरदायित्व अन्तर्गत विज्ञापनरहित हुने गरी वल्र्ड लिंकसँग ०७४ चैत्र १८ गते काठमाडौंका विभिन्न महत्वपूर्ण सार्वजनिक तथा धार्मिक स्थलमा फ्री वाईफाई जडानका लागि सम्झौता गरेको थियो । महानगरका अनुसार वल्र्ड लिंकसँग ५ वर्षे सम्झौता गरिएको छ ।
Categorized in प्रबिधि