काठमाडौं । काठमाडौं महानगरपालिकाले बारा–पर्सा हावाहुरी पीडितलाई २५ लाख आर्थिक सहयोग प्रदान गर्ने भएको छ ।
विहिवार महानगरको ३१ कार्यपालिकाको बैठकले सो निर्णयसँगै हवाहुरी पीडितलाई जनप्रतिनिधि र कर्मचारीहरुको एक दिनको पारिश्रमिक समेत प्रदान गरिने निर्णय गरेको छ ।
महानगरको सो बैठकले चैत २४ गते सञ्चालन हुने नगर सभामा ४ वटा विधेयक पेश गर्ने महानगरको प्रवक्ता ईश्वरमान डंगोलले बताएका छन ।
प्रवक्ता डंगोलका अनुसार सार्वजनिक निजी साझेदारी, सवारी तथा यातायात व्यवस्थापन, बिपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन र सहरी योजना आयोग सम्बन्धि बिधेयक नगरसभा बैठकमा प्रस्तुत गरिनेछ ।
कार्यपालिका बैठकमा बिधायन समितिका सदस्य सचिव बसन्त आचार्यले बिधेयकका दफाबार व्यवस्थाहरु पेश गरेका विधेयकमा कार्यपालिका सदस्यहरुले सुझाव दिएका थिए ।
सहरी व्यवस्थापनलाई जन अपेक्षाबमोजिम बनाउन आवश्यक पर्ने कानुन तर्जुमा गर्ने क्रममा उल्लेखित बिधेयकलाई कार्यपालिकाको गएको फागुन १७ गते बसेको ३० औं बैठकले अवधारणागत सहमति दिएको थियो ।
Categorized in समाज